फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकको निधन


पेरिस, (एजेन्सी)। फ्रान्सका पूर्वराष्ट्रपति ज्याक सिराकको बिहीबार ८६ वर्षको उमेरमा निधन भएको फ्रेन्च सञ्चार माध्यमले जनाएका छन्। उनको जीवनको उत्तरार्ध जीवन भ्रष्टाचार काण्डको कारण अस्तव्यस्त हुन पुगेको थियो।

सिराकका ज्वाँइँले बिहीबार बिहान उनले परिवारका सदस्यहरूको उपस्थितिमा शान्तिपूर्वक देह त्याग गरेको फ्रेन्च समाचार निकाय एएफपीलाई जानकारी गराएका छन्। दुई पटक फ्रान्सको राष्ट्रपतिय कार्यकाल पूरा गरेका सिराकले फ्रान्समा एकल युरोपेली मुद्राको प्रचलन शरू गरेका थिए।

उनलाई श्रद्धान्जली दिने क्रममा फ्रान्सको राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरिएको छ। युरोपेली आयोगका अध्यक्ष तथा लक्ज्वेम्वर्गका पूर्व प्रधानमन्त्री जिन क्लाउड जन्करले सिराकको दुखद निधनको खबर सुनेर आफू स्तब्ध र मर्माहित भएको बताएका छन्।

एक विज्ञप्तिमार्फत जन्करले भनेका छन् ,‘सिराकको निधनले युरोपले एक महान राष्ट्राध्यक्ष मात्र गुमाएको नभई मैले पनि एक असल मित्र गुमाएको छ।’

एकजना बैंक म्यानेजरका पुत्रको रूपमा सिराकको सन् १९३२ मा जन्म भएको थियो। उनी सन् १९९५ देखि २००७ सम्म फ्रान्सको राष्ट्रपति बनेका थिए। सोसियलिस्ट राष्ट्रपति फ्रान्स्वा मित्तेरापछि लामो समय राष्ट्रपति बन्ने सिरका दोस्रो व्यक्ति हुन्। पदबाट बाहिरिए यता उनको स्वास्थ स्थिति झनझनै नाजुक हुँदै गएको थियो।

फ्रन्सको प्रधानमन्त्रीसमेत बनेका उनी विरुद्ध थुप्रै भ्रष्टाचारका अभियोग लागेका थिए। सन् २०११ मा उनी विरुद्ध राजधानी पेरिसको मेयर पदमा रहँदा सरकारी कोष हिनामिना गरेको अभियोग लगाइएको थियो।

उनले फ्रान्सको आन्तरिक राजनीतिका धेरै सुधार गरेका थिए। उनले राष्ट्रपतिय कार्यकाललाई सात वर्षबाट घटाएर पाँच वर्ष बनाएका थिए। तत्कालीन समयमा फ्रेन्च मतदातले निकै विरोध गरेको युरोपेली संघको संविधान निर्माणमा पनि सिराकको महत्पूर्ण योगदान रहेको थियो।

सन् २००३ मा संयुक्त राज्य अमेरिकाले इराकमाथि आक्रमण गर्दा सिराक विपक्षी राजनीतिक खेमाको विरोधको तारो बनेका थिए। सन् २००५ मा र २०१४ मा गरी दुई पटक उनलाई हृदयाघात भएको थियो। उनकी पत्नी बर्नाडेटेले उनको स्मरण क्षमतामा समस्या रहेकाले उनले सार्वजनिक स्थलमा नबोल्ने बताउँदै आएकी थिइन्।