भारतीय र पाकिस्तानी पत्रकारमाथि ट्रम्पको व्यंग्य


वासिङ्टन, (एजेन्सी)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान हाल अमेरिकाको यात्रामा रहेका छन्। यसबीच दुवै प्रधानमन्त्रीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती देशका पत्रकारका प्रश्नलाई लिएर ट्रम्पको टिप्पणी विशेष चर्चामा रह्यो।

हुन त ट्रम्प प्राय आफ्नै देश मात्र होइन विदेशका पत्रकारका लागि पनि खरो र आक्रामक बन्ने गरेको अनौठो घटना होइन। ‘हाउडी मोदी’ कार्यक्रमपछि मंगलबार मोदी र ट्रम्पबीच पुन भेटवार्तापछि उनीहरू संयुक्त पत्रकार सम्मेलनमा उपस्थित रहे। यस सम्मेलनमा एक भारतीय पत्रकारले मोदीकै उपस्थितिमा ट्रम्पसँग केही प्रश्न सोधे।

उक्त प्रश्नको जवाफमा ट्रम्पले जुन जवाफ फर्काए, त्यसको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ। त्यसको एक दिन अगाडि ट्रम्प र इमरान खान प्रेस सम्मेलनमा सँगै थिए। त्यसमा ट्रम्पको जवाफलाई लिएर पाकिस्तानी पत्रकारको भारतमा व्यापक धज्जी उडाइएको थियो।

अब ट्रम्पको त्यसतै समान टिप्पणी भारतीय पत्रकारका लागि पनि आएको छ। आईएसआईएसले अलकायदालाई प्रशिक्षण दिएको स्वीकारेको पाकिस्तानी प्रधानमन्त्री इमरानको बयानलाई कसरी लिनुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने मैले यसतो सुनेको छैन।

पत्रकारले सोधे– ‘कट्टरपन्थी इस्लामिक आतंकवादीसँग लड्ने कुनै रोडम्याप छ ?’
ट्रम्प ः ‘हामी काश्मिरको मसलामा समाधान निकाल्ने प्रयास गर्नेछौं। हामी सबै यही चाहन्छौं।’
पत्रकार ः ‘तर के आतंकवाद ठुलो मुद्दा होइन ? पाकिस्तान सरकार प्रायोजित आतंकवादसँग लड्ने कुनै रोडम्याप छ ?’
यस प्रश्नको जवाफमा ट्रम्पले मोदीतिर हेर्दै भने– ‘तपाईंसँग राम्रा संवाददाता रहेछन्। यस्ता रिपोर्टर मसँग पनि भएको भए कति राम्रो हुन्थ्यो। तपार्इं अन्य पत्रकारले भन्दा राम्रो गरिरहनु भएको छ। तपार्इं यसतो पत्रकार कहाँबाट खोज्नु हुन्छ। हेर्नुस, समस्याको समाधान गर्न तपाईंसँग महान प्रधानमन्त्री छन्। यसमा मलाईं कुनै संका छैन।’
यसअघि आइतबार पाकिस्तानी प्रधानमन्त्रीसँगको भेटवार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। उक्त सम्मेलनमा पाकिस्तानी पत्रकारले काश्मिर मुद्दामा संयुक्त राष्ट्रको अध्यादेशसँग सम्बन्धित एक प्रश्न ट्रम्प समक्ष राखेका थिए।

पाकिस्तानी पत्रकारको उक्त प्रश्नको जवाफमा ट्रम्पले इमरानतिर हेर्दै भनेका थिए, मलाई यो रिपोर्टर मनपर्यो। के तपाईं इमरान खानको टोलीको हो ?

रिपोर्टरले भने– ‘म इमरानको टोलीको होइन , म एक स्वतन्त्र पत्रकार हुँ।त्यसपछि अर्को पाकिस्तानी पत्रकारले ट्रम्पसँग प्रश्न सोधेका थिए– ५० दिनदेखि काश्मिर बन्द छ। न त इन्टरनेट, न त फोन। काश्मिरमा मानवअधिकारको उलंघन भइरहेको छ। तपार्इं काश्मिर जनताका लागि के गरिरहनुभएको छ ?

जवाफमा ट्रम्पले इमरानसँग भने– ‘तपाई यसता पत्रकार कहाँबाट खोजेर ल्याउनु हुन्छ ? यिनीहरु गजबका छन्।’
ट्रम्पको यो जवाफमा पाकिस्तानी पत्रकारको हैसियतलाई लिएर भारतीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा भएको थियो तर समान प्रकारको व्यावहार भारतीय पत्रकारमाथि पनि भएको घटनालाई लिएर भने उनीहरु मौन देखिएका छन्।

अमेरिकामा पनि पत्रकारहरुसँग राष्ट्रपति ट्रम्पको धेरै पटक बादविवाद र टिक्का टिप्पणी भइसकेको छ। ट्रम्पले धेरैपटक सञ्चार माध्यम तथा पत्रकारलाई फेक न्युज फैलाउने बताउँदै ठट्टामा व्यंग्य हानेका छन्। सन् २०१७ मा बीबीसीका जोन सोपलको अमेरिकी राष्ट्रपतिसँग टीकाटिप्पणी भएको थियो।

ट्रम्प र सीएनएन च्यानलका पत्रकारबीच भएको टिक्का टिप्पणी पनि धेरै नै चर्चामा आएको थियो। सीएनएनका ह्वाइट हाउसका लागि मुख्य संवाददाता जिम एकोस्टाको प्रेस हार्ड पास फिर्ता लिइएको थियो।