स्वामित्व निजी मेडिकल सञ्चालन गर्न आग्रह


काठमाडौं, (नेस)।सरकार निकट विद्यार्थी संगठन अनेरास्ववियुले निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ।

निजी मेडिकल कलेज संचालकहरूले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियुले सरकारलाई सो आह्वान गरेको हो।

‘राज्यको नीति नियममा बसेर सांच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरूको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई संचालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आह्वान गर्दछौं’ –अनेरास्ववियुका राष्ट्रिय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको हो।

विज्ञप्तिमा अनेक घुर्की, धम्की र वितण्डा मच्चाउन छाडेर सरकारको अग्रसरतामा भएको वार्ता र निर्णयबमोजिम बढी लिएको पैसा फिर्ता गरी तत्काल भर्ना प्रक्रिया अघि बढाउन निजी मेडिकल कलेजहरूलाई आग्रह गरिएको छ।

करिब ढेड दर्जन निजी मेडिकल कलेज सञ्चालकले मनपरी ढंगले तोकिएको भन्दा बढी शुल्क लिन नपाउने भएपछि विद्यार्थीको भर्ना नगर्ने र कलेजको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका थिए ।

लगत्तै अनेरास्ववियुले विज्ञप्ति जारी गरी तत्काल बढी लिएको शुल्क फिर्ता नगरे कडा कारबाही गर्नेसम्मको चेतावनी दिएको छ।संयोजक महरले विद्यार्थीसँग मनपरी रकम असुल गर्ने विद्यार्थीलाई आफ्नो बढी शुल्क लिने कलेजको नाम संगठनलाई उपलब्ध गराउन जानकारी गराइएको बताउनुभयो।

‘शुल्क फिर्ता नगर्ने र तत्काल भर्ना नलिने मेडिकल कलेजलाई सरकारले सञ्चालन गर्न सरकारसमक्ष आह्वान गरेका छौं’ –संयोजक महरले भन्नुभयो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४१ को उपदफा २ बमोजिम शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने उल्लेख छ।