अनुगमन प्रारम्भ गर्दै पत्रकार महासंघ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।नेपाल पत्रकार महासंघले सञ्चार प्रतिष्ठानहरूले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा लागू गरे/नगरेको बारेमा बुझ्न असोज १० गतदेखि अनुगमन प्रारम्भ गर्ने भएको छ।

महासंघका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट नेतृत्वको टोलीले छुट्टाछुट्टै रुपमा सञ्चार प्रतिष्ठनाहरूमा अनुगमन गर्नेछ। अनुगमन रेडियो, टेलिभिजन, छापा र अनलाइन सञ्चार प्रतिष्ठानहरूमा गरिने महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा उपलब्ध गराउने र श्रमजीवी पत्रकारहरूले सञ्चार प्रतिष्ठानहरूमा भोगिरहेका समस्याहरू समाधान गर्ने सहजीकरण गर्ने उद्देश्यले अनुगमन थालिएको महासंघले जनाएको छ।

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासनमा परेका पत्रकारहरू सुनिता रावल, प्रकाश बम र चक्र कुँवरसहित सेवाबाट हटाइएका पत्रकारहरूको पुनर्वहाली र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको दबाबका लागि असोज १३ गते माइतीघर मण्डलामा धर्ना र विरोध प्रदर्शन गर्ने कार्यक्रम महासंघले तय गरेको छ।