मालढुंगा–बेनी सडक दैनिक तीन घण्टा बन्द


न्युज अफ नेपाल, पर्वत । हिमाल पारिको जिल्ला मुस्ताङ समेत जोड्ने राष्ट्रिय राजमार्गको रुपमा रहेको भूपी शेरचेन राजमार्गको मालढुंगा–बेनी सडक खण्ड थप तीनका लागि बन्द गरिने भएको छ । पर्वतको पाङबाट बागलुङको बाँगेचौरमा झोलुङ्गे पुल बनाउन थालिएकाले दसैंको मुखमा थप दैनिक तीन घण्टा बन्द गर्ने निर्णय गरिएको छ ।

असोज १० गतेसम्म बिहान १० देखि दिउँसो १ बजेसम्म मालढुङगा बेनी सडक बन्द गर्ने निर्णय गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताउनुभयो। पछिल्लो समय वर्षाका कारण पहिरोले पुलको जग खनिएको स्थान पुरिएका कारण फेरि माटो फाल्नु परेकोले सडक बन्द गरेर काम शुरु गर्नुपरेको पुल निर्माण समितिले जनाएको छ । दसैंको सम्मुखमा आवागमन बाक्लिँदै गएको बेला सडक बन्द गर्दा यात्रुहरुलाई समस्या हुने भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय मा जनप्रतिनिधी, यातायात व्यवसायी, प्रहरी, उद्योग वाणिज्य संघ, निर्माण कम्पनी र पत्रकारसहितको भेलाले सडक बन्द गर्ने तालिका सार्वजनिक गरिएको थियो । दशैं र पर्यटकीय सिजनको सम्मुखमा सडक बन्द हुने भएपछि यस खण्ड हुँदै दसैंका लागि घर फर्किने र मुस्ताङ घुम्न जाने पर्यटक र तिर्थालुले थप सास्ती खेप्नुपर्ने भएको छ ।
समाप्त असोज ९