लामिछाने र कँडेलले अदालतको विरुद्धमा दिएको निवेदनको सुनुवाइ दशैँपछि मात्र हुने


न्युज अफ नेपाल, मकवानपुर । रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको विरुद्धमा दिएको निवेदन उपरको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ ।

जिल्ला अदालत चितवनले गएको भदौ ९ गते लामिछाने र कँडेललाई क्रमश पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको विरुद्धमा उनीहरु दुवैले गएको भाद्र १७ गते निवेदन दर्ता गराएका थिए ।

सरकारी वकिलको कार्यालयमा रुकु कार्की (अस्मिता) लाई समेत प्रतिवादी बनाइएकोले प्रतिवादी कार्कीका तर्फबाट अधिवक्ता रामकृष्ण देउलाले बिहीबारको बहस, सुनुवाइ स्थगित गरी पाउँ भनी गएको भदौ २६ गते उच्च अदालत पाटन हेटौँडा इजलासमा निवेदन दिएको हुनाले बहस स्थगित भएको उच्च अदालत स्रोतले बताएको छ ।

अब केही दिनमै दशैँको बिदा हुन लागेकाले उक्त बिदा सकिएपछि मात्रै अदालत खुल्ने भएकोले कार्यालय खुलेपछि मात्रै सुनुवाइको मिति तय हुने बताइएको छ ।

उच्च अदालतका अनुसार हेटौँडा इजलासमा तल्लो तहको अदालतको विषयमा गरिने सुनुवाइ वा बहस प्रत्येक बिहीबार मात्रै हुने कार्यतालिका भएकाले सम्भवत आउँदो असोज ३० गते बहस तथा सुनुवाइ हुने सम्भावना रहेको अदालत स्रोतले बताएको छ ।

उनीहरुले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेकोले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम आदेश बदर गरी साधारण तारेखमा मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।