रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदहाडै ६ लाख लुटियो


यमलाल भुसाल, बुटवल । रुपन्देहीमा एक पछि अर्को लुटपाटका घटनामा वृद्धि हुन थालेको छ । ११ दिनको अन्तरालमा २ वटा घटना हुदाँ पनि प्रहरीले लुटेरा पक्राउ गर्न सकेको छैन ।

बिहिबार रुपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको छ लाख रुपैयाँ दुई जनाको संख्यामा आएका लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रिलायन्स सिमेन्ट उद्योगको भैरहवास्थित कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाईकलमा जांदै गर्नुभएका त्रिपाठीलाई हेलमेटले टाउकोमा हानी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । “रकम लुटिएको भन्ने जानकारी आउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो, तर अभियुक्त तत्कालै फरार भएकाले खोजी कार्य जारी छ”–उहाँले भन्नुभयो । यद्यपि प्रहरीले शंकास्पद दुईजना व्यक्तिलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले जानकारी दिनुभयो । यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षिय महेन्द्र कुर्मीको गोली प्रहार गरी पाँच लाख रुपैया लुटिएको थियो ।

भैरहवास्थिती हिमालयन बैंकबाट रकम निकालेर श्रीमती र बच्चा सहित लु ९ प ८२३५ नम्बरको मोटरसाईकलमा जांदै गरेका कुर्मीलाई रोहिणी गाउँपालिका वडा नं. ३ स्थित रोहिणी खोला नजिकै गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट उहाँको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनाका अभियुक्त पनि अझै पक्राउ पर्न सकेका छैनन् । दिउँसौ गोली हानी हत्या भएको १० दिन पुग्दासम्म पनि प्रहरीले देखिनेगरी कुनै काम गर्न नसकेको आफन्तको आरोप छ ।