यसरी झुके कांग्रेस सामु मेयर मदनसुन्दर

करोडौंको चलखेलमा न्यौपाने टावरको नक्सा पास गर्ने तयारी


भक्तपुर । कांग्रेस पक्षधर नगरसभाका बहुमत सदस्यहरुको उपस्थितीमा दुई महिनाअघि उपप्रमुखको सभापतित्वमा सम्पन्न भएको मध्यपुर थिमि नगरपालिकाको नगरसभाकै नीति, कार्यक्रम र बजेटका बिषयहरु समेट्ने सहमतीपछि मध्यपुर थिमि नगरपालिकाको चौथो नगरसभा औपचारिक रुपमा सम्पन्न भएको छ ।

असार १० गते नै सम्पन्न हुनुपर्ने नगरसभा नगरप्रमुख मदनसुन्दर श्रेष्ठको अडान, अहम् र चलखेलका कारण निर्धारित समयभन्दा तीन महिनापछि धकेलियो । कांग्रेस नेता अष्ट कवेसँग नेकपा भक्तपुरका नेता र मेयर श्रेष्ठले कांग्रेसका सबै नीति, योजना तथा कार्यक्रममा बजेट खर्च गर्ने सहमती गरेपछि नगरसभा सम्पन्न भएको हो । असोज ३ गते पारित नीति, कार्यक्रम, योजना र बजेटको कार्यान्वयन कसरी गर्ने भन्ने चुनौती अहिले नगरपालिका सामु छ । नगरसभाले १ अर्ब ६२ करोड ९५ लाखको बजेट पारित गरेको छ तर, यस आर्थिक बर्षको २ महिनाको समय विवादकै बीच खर्चिएको नगरपालिकासँग योजना र कार्यक्रमहरु सञ्चालन गर्ने समय अब १० महिनामात्र बाँकि छ । यस अवधिमा मेयर श्रेष्ठले कांग्रेससँग झुकेर गरेको सहमति पालना गरेनन् भने पुनः विवाद बढ्न सक्ने सम्भावना छ । मेयर श्रेष्ठको स्वाभार मिलेर अघि बढ्ने खालको छैन् नगरसभाबाट बजेट र योजना पारित भएपछि आफुखुशी चल्ने उनको बानीका कारण फेरी विवाद बढ्ने सम्भावना प्रवल छ ।

कार्यक्रम र बजेट नै पारित गर्न नसकेको नगरपालिकाले कसरी पारित कार्यक्रमहरु कार्यान्वयन गर्ला त ? भन्ने चासो र जिज्ञासा आम मध्यपुरबासीको छ । गत बर्षकै नियमित योजनाहरुको कार्यान्वयन समेत हुन सकिरहेको छैन् । नगरको हरेक योजनाहरु अलपत्र छन् । सडकहरु हिड्न नसक्ने गरि हिलाम्मे अवस्थामा छन् ।

नगरपालिका प्रमुख श्रेष्ठ पछिल्लो समय काम गर्नमा भन्दा बिदेश घुमेर रमाउनमै व्यस्त हुन थालेका छन् । भदौको दोस्रो साता वातावरण र फोहोरमैलाकै कार्यक्रममा एक्लै १० दिन नेदरल्याण्ड घुमेर फर्किएका मेयर नगरसभा सक्किएलगत्तै असोज ७ गते पुनः सोही कार्यक्रमका लागि भन्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बराललाई बोकेर एक हप्ताका लागि जापान उडेका छन् ।
यता १४ बर्षभन्दा बढि समयदेखी नक्सा पास नभै अलपत्र अवस्थामा रहेको राधेराधेस्थित न्यौपाने टावरको नक्सा पास गर्ने चलखेल शुरु भएको छ । प्रमुख प्रशासकिय अधिकृत बराल र नगर प्रमुख श्रेष्ठको जोडबलमा नक्सा पास गर्ने चलखेल शुरु भएको हो । साढे पाँच तल्ला सम्मको नक्सा पास गरेर नियम विपरित साढे सत्र तल्ला बनाएको भन्दै तत्कालिन समयमा निर्माण कार्य रोकिएको न्यौपाने भवनलाई अहिले बैधानिकता प्रदान गर्न चलखेल भएको नगरपालिकाका एक कर्मचारीले बताए । बिष्णु न्यौपानेले आफ्नो निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गर्न सत्र तलाको नक्सा पासको स्विकृती गराउन यसअघिका प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवालीलाई समेत दबाब दिएका थिए ।

तर, कार्यकारी प्रमुख ज्ञवालीले कुनैपनि हालतमा अनधिकृत र नियम विपरित बनाएका भवनलाई बैधानिकता प्रदान गर्न नसकिने भन्दै रोकेका थिए अहिले फेरी नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत बराल जरिवाना तिराएरै भएपनि भवनको नक्सा पास गरिदिने तयारीमा लागेका हुन् । उनीहरुको एक हप्ते जापान भ्रमण लगत्तै उक्त नियम विपरित बनेको भवनको नक्सा पास गर्ने तयारी गरेको नगरपालिकाका कर्मचारीले बताए ।