कोरियाली फिल्म फेस्टिवल हुँदै


राजधानीमा दक्षिण कोरियाली फिल्म फेस्टिवल हुने भएको छ। नेपालका लागि दक्षिण कोरियाली दूतावासको पहलमा ललितपुरको पुल्चोकस्थित लविम मलमा भोलि शुक्रबारदेखि यो फेस्टिवल चल्ने भएको छ।

दुईदिने फेस्टिवलमा लिटल फरेस्ट, एसासिनेसन, टनेल र डिटेक्टिभ नामका ४ फिल्म प्रदर्शन हुनेछन्। यी फिल्म निःशुल्क प्रदर्शन गरिने काठमाडौंस्थित कोरियाली दूतावासले जनाएको छ।

नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले महोत्वसको शुभारम्भ गर्ने राजदूतका सल्लाहकार शिवप्रसाद पोखरेलले जानकारी दिए।

एक–अर्को मुलुकको जनस्तर र सांस्कृतिक सम्बन्धलाई नजिक बनाउन दूतावासको पहलमा १५ वर्षदेखि यस्तो महोत्सव हुँदै आएको उनले बताए।

‘सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबाट स्वीकृत लिएर यस्तो प्रदर्शनी हुँदै आएको छ’, पोखरेलले भने– ‘विगतमा गीत–संगीत, नाटक र अन्य गतिविधि पनि भइसकेको छ।’