पाकिस्तानमा शक्तिशाली भूकम्प, ८ को मृत्यु


इस्लामावाद, (एजेन्सी)।पाकिस्तानको राजधानी इस्लामावाद र पाकिस्तान प्रशासित कास्मिरका कयौं इलाकामा मंगलबार साँझ शक्तिशाली भूकम्प गएको छ।

भूकम्पबाट प्रभावित पाकिस्तान प्रशासित कास्मिरमा एक बच्चासहित ४ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। साथै अन्य करिब १ सय जना घाइते भएका छन्।

अमेरिकी भू–गर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ५ दशमलब ८ रहेको र यसको केन्द्र पाकिस्तानको पन्जाब प्रान्तको झेलम शहरबाट करिब पाँच किलोमिटर दूरीमा रहेको जनाएको छ।

भूकम्पको प्रभावले पाकिस्तान प्रशासित कास्मिरबाहेक इस्लामावाद, लाहौर, पेसावर र अन्य कयौं शहरमा क्षति पुगेको समाचार आएका छन्।

पाकिस्तान प्रशासित कास्मिरको मिरपुर जिलाका एसपी इरफान सलिमले भने– ‘भूकम्पबाट ८ जनाको मृत्यु भएको छ। यसमा एक बालिका पनि परेकी छन्।

भूकम्पमा घाइते हुनेमध्ये केहीको अवस्था गम्भीर रहेको र मर्नेको संख्यामा बढोत्तरी हुन सक्ने आशंका रहेको छ।’
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्विट गरी सेना प्रमुखले सेनालाई नागरिक प्रशासनलाई सहयोग गर्न आदेश दिएको उल्लेख गरेका छन्।

सेनाका चिकित्सकीय टोली राहत तथा उद्धार कार्यका लागि प्रस्थान गरिसकेको बताइएको छ।भारतको राजधानी दिल्लीसहित भारतको कयौंं शहरमा भूकम्पको धक्का महसुस गरिएको थियो। यद्यपि भारतमा क्षति पुगेको कुनै समाचार आएको छैन।