गीतबाटै बन्यो रातो टीका निधारमा


दुई दशकअगाडि फिल्म अल्लारेमा समावेश रातो टीका निधारमा बोलको गीत अहिले पनि मानिसले बिर्सेका छैनन्। हालसम्म पनि जनमनमा बस्न सफल उक्त सदावहार गीत गायक उमेश पाण्डे र रमना श्रेष्ठले गाएका थिए। राजेश हमाल र करिश्मा मानन्धरले त्यसमा गरेको नृत्यलाई अहिले पनि उत्तिकै मन पराइन्छ।

दर्शक दशैं नजिकिँदै गर्दा उक्त गीत नयाँ भर्सनमा फेरि गुञ्जिन थालेपछि पुरानो यादलाई ताजा बनाएको आभाष गरिरहेका छन्।

अभिनेता तथा निर्देशक अशोक शर्माले निर्देशन गरेको फिल्म रातो टीका निधारमा राखिएको यो गीतको नयाँ भर्सन गायक प्रमोद खरेल र गायिका मेलिना राईले गाएका छन्।

कथा लेख्दै जाँदा फिल्मको नाम रातो टीका निधारमा सुहाउने भएकाले सो नामकरण गरिएको र नामलाई सार्थक बनाउनका लागि पुरानो गीतको प्रयोग गरेको निर्देशक शर्माले जानकारी गराए।

‘रातो टीका निधारमा गीत राखेपछि फिल्मको अझ जस्टिफाई हुने हुनाले पुरानो गीतलाई प्रयोग गरीएको हो।’ –शर्माले सुनाए।

त्यसो त केही समययता लोकप्रिय गीत रिमेक गरेर फिल्ममा राख्ने प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा देखिन थालेको छ। तर, धेरै त्यस्ता गीतले आलोचनाको सामना गर्नुपरेको छ।

‘रिमेक गीतहरूले राम्रो प्रतिक्रिया नपाइरहेकाले मलाई यो गीत राख्न डर लागिरहेको थियो। यो गीतमा दरबारभित्रका राजादेखि दरबारमार्गका सडक बालबालिकासमेत रमाएका थिए।

त्यस कारण पनि यसबाट कस्तो प्रतिक्रिया पाइएला भन्ने चिन्ता थियो। तर, संगीतकार शम्भुजित बास्कोटाले गीत राम्रो बनाएपछि त दर्शकले मन पराइहाल्छन् नि भन्नुभयो।

त्यसपछि गीत अझै राम्रो बनाएर फिल्ममा राख्ने सल्लाह भएबमोजिम महिलामा मेलिनालाई गाउन दिने भन्नेमा स्योर थिएँ।

तर, पुरुष स्वरमा कसलाई गाउन लाउने भन्नेबारे सोच्नै गाह्रो भयो। शुरूमा उमेश पाण्डेलाई नै गाउन लगाइयो तर उहाँले ३ पटकसम्म गीत गाउने प्रयास गर्दै अहिलेको जेनेरेसनलाई मेरो भ्वाइस म्याच हुँदैन।

यो गीत योङ गायकलाई गाउन लगाउनु भन्नुभयो र प्रमोद खरेललाई गाउन लगाइयो’, निर्माता निर्देशक शर्मा सुनाउँदै थिए– ‘प्रमोदले निकै मेहनत गरेर गाएको छ।’

डेब्यु नायक छोरा अंकित शर्मा र नायिका सम्राज्ञीराज्यलक्ष्मीदेवी शाहले कम्मर मर्काएको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि अशोक मख्ख छन्।

अशोकले आफ्नो फिल्मका लागि पहिले जसिता गुरुङसँग पनि कुरा गरेको तर जसिताको समय नमिलेपछि साम्राज्ञीलाई फिल्ममा लिएको बताए। ‘मैले अन्य कलाकार त दिमागमा राखिरहेको थिएँ।

पछि राम्रो नायिकाको खोजीको क्रममा साम्राज्ञीलाई लिएँ। म जहिले पनि फिल्मको मेजर क्यारेक्टरलाई सपोर्ट गर्ने अरू कलाकार पनि स्ट्रङ नै राख्छु’। –शर्माको भनाइ थियो। फिल्मको ट्रेलर हेर्दा वैदेशिक रोजगारसम्बन्धी फिल्म जस्तो देखिए पनि यसमा धेरै कुरा रहेको उनले बताए।

रातो टीका निधारमा भन्दा अघि रिलिज भएको लभ सङमा अंकित असहज देखिएका छन्। तर, यसमा भने साह्रै नै खुलेका छन् र व्यावसायिक पनि लाग्छन्।

यसप्रति अंकित आफैं रहेछन्। ‘रातो टीका निधारमा गीत रिलिजको हिसाबले दोस्रो गीत भए पनि यही गीतबाटै फिल्मको सुटिङ शुरू भएको थियो।

तर, दर्शकले पहिलो गीतभन्दा दोस्रो गीतको बढी तारिफ गर्नुभयो। म आफैं कसरी यस्तो गरें भन्ने कुरामा चकित छ।’ –उनले भने।

मलेसियाबाट फिल्म स्टडिजमा स्नातक गरेका अंकितले आफूले त्यहाँ फिल्मसम्बन्धी ज्ञान पाएको बताए। ‘फिल्म पढेर मेकिङतिर जाउँ कि भन्ने सोच थियो।

तर, फिल्म मेकर वा निर्देशक बन्नका लागि धेरै अनुभव चाहिन्छ भन्ने बुझेपछि अभिनयबाट करिअर शुरू गरेको छु। एउटा फिल्म डेट नमिलेर गर्न नपाए पनि अहिलेसम्म अन्य फिल्मबाट अफर आएको छैन।

तर, फिल्म रिलिजपछि भने आउँछ भन्ने आशा छ’, उनले भने– ‘म नयाँ भएकाले सबै जना मैले कस्तो काम गर्छु होला कतै बिगार्छु कि भनेर सिकाइरहनुहुन्थ्यो। मेरो टेक लिने बेलामा सबै जनाले भनिरहनुहुन्थ्यो।

इभन मेकअप आर्टिस्टले पनि सिकाइरहेको हुन्थ्यो। मचाहिँ डाइरेक्टरले मात्र बोले हुन्थ्यो भन्ठान्थें। उहाँहरूले साचेजस्तै मैले फिल्ममा सकेजति मेहनत गरेको छु।’

साम्राज्ञीले सधैं एकैखालका सिनेमाको अफर आउने गरेकोमा यस वर्ष रातो टीका निधारमामार्फत फरक र आफूले सोचेजस्तो फिल्ममा काम गर्ने अवसर मिलेको बताइन्। ‘यो वर्ष मैले रातो टीका निधारमा र मारुनी जस्ता राम्रो फिल्ममा काम गरेको छु।

राम्राज्ञीले गाउँले भूमिका खेल्दैन भनेर मैले सोच्दै नसोचेको कुरा मिडियामा आएको थियो। तर, रातो टीका निधारमा उनीहरूका लागि राम्रो जवाफ हो।’ –साम्राज्ञीले भनिन्।

पर्सि शुक्रबार अल नेपाल रिलिज हुने फिल्ममा साम्राज्ञी र अंकितको साथमा रवीन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरूणा कार्की, राजाराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ।

किरण शर्मा र कृति शर्माको निर्माण रहेको फिल्ममा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।