चेक गर्ने प्रहरी जवानकै अपहरण १ फायरिङपछि ट्रकचालक नियन्त्रणमा


हेटौंडा, (नेस)।गोप्य सूचनाका आधारमा सोमबार राति करिब साढे १ बजे हेटौंडा–१५ स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमान्डमा संयुक्तरूपमा प्रहरी खटियो।

उक्त चेकिङ टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना६ख १३१ नम्बर ट्रक चेक गर्ने क्रममा ट्रकभित्र क्याबिनको भागमा ट्रकचालक वीरगन्ज–२९ बस्ने वर्ष ३५ का अफ्रिका चौधरीले चेक गरिरहेका प्रहरी जवान सञ्जीवकुमार दाससहितलाई अपहरण शैलीमा लिएर ट्रकलाई भगाए।

प्रहरी टोलीले ट्रकलाई पछ्यायो। उक्त स्थानबाट करिब साढे ३ किलोमिटर दक्षिण नयाँबस्ती जाने सडकखण्डमा ट्रक रोकी प्रहरी जवानलाई ट्रकचालक र ट्रकमा रहेका अर्का एक व्यक्तिसमेतले लछारपछार गर्दै जंगलतर्फ लैजाँदै गरेको देखियो।

पछ्याउँदै गरेको प्रहरी टोलीले घेरा हाली नियन्त्रणमा लिन पेस्तोलबाट २ राउन्ड फायर गर्दा ट्रकचालकको खुट्टामा गोली लाग्यो। उनी पक्राउ परे। उनी घाइते भएकाले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घटनामा दुई प्रहरीसमेत सामान्य घाइते भए।

चालकको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ। प्रहरीले ट्रकको क्याबिन र हुडको भागमा लुकाइछिपाइ ल्याइएको १४ प्याकेटमा ७८ किलो ८ सय ग्राम गाँजा फेला पार्यो।

गाँजासहित ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ। उक्त ट्रकमा रहेका फरार व्यक्तिको खोजतलास भइरहेको छ