बल्ल जोडियो सिमिकोट राष्ट्रिय सडक सञ्जालमा


काठमाडौं, (नेस)।हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। हिल्सा–सिमिकोट सडक आयोजनाले ट्र्याक खन्ने काम सम्पन्न गरेसँगै सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो।

नेपालको अन्य सदरमुकाम सडकले जोडे पनि सिमिकोट भौगोलिक विकटताका कारण अहिलेसम्म जोडिइसकेको थिएन। आयोजना प्रमुख शशांक मिश्रले हिल्सादेखि सिमिकोटसम्म ट्र्याक खन्ने काम सम्पन्न भएसँगै राष्ट्रिय सडक सञ्जालमा जोडिएको बताउनुभयो।

‘हिल्सादेखि सिमिकोटसम्म ट्र्याक खन्ने काम सम्पन्न भयो। यसमा सवारी सञ्चालनका लागि दुई गाडी छिर्ने गरी चौडाको काम भइरहेको छ।’ –उहाँले भन्नुभयो।

दशैंलगत्तै सवारी गुडाउने योजना रहेकाले काममा खटिएकालाई बिदा नदिई खटाइएको उहाँले बताउनुभयो। एक वर्षअघि सडक जोड्ने योजना थियो।

यसअघि पछिल्लो पटक डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो। हुम्लाको हिल्सादेखि सदरमुकाम सिमिकोटसम्मको ९५ किलोमिटर दूरी रहेको छ। ‘दशैंअघि नै सडक जोड्ने योजना थियो।

योजना सफल भएको छ। हामी चाँडै सफलतापूर्वक सवारी गुडाउँछौं।’ –उहाँले सुनाउनुभयो।कडा चट्टान भएकै कारण चट्टान फोर्न विस्फोटक पदार्थ प्राप्त हुन ढिलाइ हुनुलगायत विभिन्न कारणले एक वर्ष ढिला भएको उहाँले बताउनुभयो।

‘कडा चट्टानको भाग विस्फोटक पदार्थ समयमै उपलब्ध नभएकै कारण काममा ढिलाइ हुन पुग्यो। भरसक एक वर्ष ढिला भए पनि सडक जोडियो।’ –उहाँले भन्नुभयो।