मलेसियामा एक नेपालीलाई कम्पनीका म्यानेजरले अचेत हुने गरी कुटे


न्युज अफ नेपाल, काठमाडौं । मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले अचेत हुने गरी कुटेका छन् ।

मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर, नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो ।

कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई अचेत हुने गरी कुटेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए ।

बिरामी भइ कोठामा सुतेका थापालाई ड्युटीमा नगएको आरोपमा कुटपिट गरिएको उनका काकाले बताए । मादक पदार्थ सेवनको आरोप लगाउन कुटपिटपछि उनको शरीरमा रक्सी खनाइएको छ ।

कुटपिटको घटना बाहिर जान नदिन कम्पनीमा कार्यरत नेपालीहरुलाई कोठामा बन्धक बनाइएको छ । उनले भने, ‘हामीलाई बन्धक बनाएर राखिएको छ । साथमा रहेको मोबाइल पनि कब्जामा लिइएको छ ।’

घटना चार दिन अघि भएको हो । मोबाइल फोन खोसिएको तथा बन्धक बनाइएकाले घटनाबारे जानकारी ढिला आएको हो ।

पीडितका काका थापाले कम्पनीमा कार्यरत कर्मचारीको सहयोगमा जंगलबाट लुकेर नेपालस्थित आफन्त कृष्ण मगरलाई घटनाबारे जानकारी दिएका थिए ।

घटनाबारे जानकारी मलेसियास्थित दूतावाससम्म पुग्न सकेको छैन । पीडितहरुले नेपाल सरकारसँग उद्दारका लागि सहयोग मागेका छन् ।