एक महिनामा वैदेशिक रोजगारीमा गएका ६१ काे मृत्यु


न्युज अफ नेपाल, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ६१ नेपालीको भदौमा ज्यान गएको छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार तीन महिला र ५८ पुरुषको ज्यान गएको हो। यो संख्या घरसम्म शव ढुवानी गरिदिएकाको मात्रै हो । सबै सम्पर्कमा नआउने भएकाले अझै बढी हुन सक्ने बोर्डको अनुमान छ। थप १८ वटा शव झिकाउनका लागि बोर्डले पत्राचार गरेको छ।

विदेशबाट गएको साउन महिनामा ७४ जनाको शव आएको थियो। बोर्डले विदेशमा ज्यान गुमाएकाका ६४ परिवारलाई भदौमा आर्थिक सहायता प्रदान गरेको छ। ६२ पुरुष र २ महिलाका परिवारले आर्थिक सहायता पाएका हुन्। यो संख्या गत महिनाभन्दा बढी हो। गत साउनमा ६० जना मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो।

अंगभंग भएका तथा बिरामी भएका कामदारलाई न्युन मात्र आर्थिक सहायता दिइएको छ। भदौमा २५ जनाले मात्रै यस्तो आर्थिक सहायता पाएका छन्। साउनमा बिरामी भएर फर्किएका ४५ जनाले आर्थिक सहायता पाएका थिए ।