हुम्लामा दशैँसम्म चामल ढुवानी गर्न नसकिने


न्युज अफ नेपाल, हुम्ला ।  गत आर्थिक वर्षमा आइपुग्नुपर्ने खाद्यान्न काठमाडाैँ हुँदै सदरमुकाम सिमकोटमा सोमबार मात्र पुगेको छ । हुम्लाको दक्षिणी भेगका लागि भने खाद्यान्न ढुवानीको सम्झौता भर्खर भएको छ ।

चालू आवमा नेपाल खाद्य संस्थानले बोलपत्र आह्वान ढिलो गरेका कारण यस वर्षको दशैँमा जिल्लाको तल्लो भेगमा खाद्यान्न ढुवानी गर्न ढिलाइ हुने भएको छ । असार अन्तिम सातादेखि श्रीनगर डिपो रित्तो भएको छ । सो कार्यालयमा सहयोगीसहित तीन कर्मचारी कार्यरत छन् । डिपोका प्रमुख दिवाकर वली दशैँसम्म चामल ढुवानी गर्न नसकिने बताउनुहुन्छ । “ठेक्का प्रक्रिया ढिला भएकाले खाद्यान्न ढुवानी गर्न समस्या भएको हो”, उहाँले भन्नुभयो ।

श्रीनगर डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्न तीन जनाले ठेक्का लिने भएका छन् । चामल ढुवानी गर्न लोकेन्द्र भण्डारी, दुर्गाबहादुर बुढा र नन्द महतराले ठेक्का लिएको डिपो प्रमुख वलीले बताउनुभयो । सुर्खेत, बाजुराको मार्तडी र कैलालीको धनगढीबाट चालम ढुवानी गरिनेछ । ढुवानी प्रक्रिया ढिलो भएका कारण दशैँमा चामल पु¥याउन नसकिने ठेकेदार भण्डारीले बताउनुभयो । उहाँले दशैँ बिदाका कारण चामल ढुवानी गर्न समय लाग्ने बताउनुभयो ।

केही समयअघि केरुङ नाका हुँदै हिल्सासम्म पाँच हजार पाँच सय क्विन्टल चामल ढुवानी गरिएको थियो । सिमकोट खाद्य संस्थानका लागि ल्याइएको चार हजार क्विन्टल चामल सलिसल्लासम्म ढुवानी गरिएको छ । एक हजार पाँच सय क्विन्टल चामल भने बिक्री वितरण गरिएको नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । सलिसल्लामा रहेको खाद्यान्न सिमकोट खाद्य संस्थानसम्म ढुवानी गरिँदैछ ।

सिमकोटमा दशैँमा चामल अभाव नहुने

सधैं दशैँको समयमा चामल अभाव हुने सिमकोटमा यस वर्ष भने मौज्दात छ । गत वर्ष खाद्य संस्थानले यहाँ एउटा परिवारलाई तीन किलोका दरले चामल वितरण थियो । “यस वर्ष दशैँमा चामल अभाव हुँदैन”, संस्थानका शाखा प्रमुख विष्टले भन्नुभयो । सिमकोट शाखाबाट असोज १ गतेदेखि चामल वितरण गरिँदै आएको उहाँले बताउनुभयो । काठमाडौँ केरुङ हुँदै हिल्सा पुगेको चामल सलिसल्लाबाट सिमकोट ढुवानी गर्न लागिएको हो ।