एक हजार घुस खाएको आरोप लागेका कर्मचारीद्धारा आत्माहत्या


पुष्कर बुढाथोकी, भक्तपुर । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राऊ गरि धरौटीमा रिहा भएका एक कर्मचारीले आत्माहत्या गरेका छन् ।

अख्तियारले पक्राऊ गरि ४२ दिन थुनामा बसेर गतभदौ ३१ गते धरौटीमा रिहा भएको एकसाता मै सुनसरी ईनरुवा नगरपालिका ५ घरभई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरेका छन् । मृतक सुवेदीको शव भक्तपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

कलंकी मालपोत कार्यालयमा खरदारका रुपमा रहदाँ गत असार महिनामा एक हजार रुपैया रकम लिदै गरेको सिसि क्यामराको दृश्य अवलोकन गरि अख्तियारले हाजिर हुन कार्यालयमा बोलाई कार्यालयबाटै गत साउन २२ गते पक्राऊ गरि थुनामा राखेको थियो ।

विगत २१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैया दिदाँ ज्यानै गुमाउनु परेको अस्पताल आएका आफन्तले बताएका छन् ।

गत माघ महिनामा बाबुको निधन भएको सुवेदीले पनि आत्माहत्या गरेपछि परिवारमा एकैवर्षमा दुईवटा शोक परेको भन्दै आफन्तले बताएका छन् ।
आफन्तले लाखौ, करोडौ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसकेको तर एक हजार रुपैया खाजा खर्च लिनेलाई आत्माहत्या गर्न बाध्य पार्ने गरि अनुसन्धान गरेको आरोप लगाएका छन् ।