रक्सी पीएर होहल्ला गर्ने तीन जना माथि प्युठान प्रहरीले चलायो मुद्धा


सलिम अन्सारी, प्युठान। मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हो–हल्ला गर्दै हिँड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै पुरुष रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

सार्वजनिक स्थल र बाटोमा अश्लिल शब्द प्रयोग गर्ने, हो–हल्ला गर्ने,ड्युटिमा खटिएको प्रहरी माथी अभद्र व्यवहार गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गर्नेलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक लोकेन्द्र जिसीले भने, ‘नियन्त्रणमा लिएकालाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाएका छौ।’मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा अशान्ति फैलाएको आरोपमा प्युठान नगरपालिका – ८ मानागाँउका स्थानीय २६ वर्षीय जुठे सार्की, ऐरावती गाउँपालिका-५ सराङवेशीका ३७ वर्षीय जित बहादुर केसी र मल्लरानी गाँउपालिका-२ खन्नीखोला बस्ने बर्ष २४ को केशव के.सी. लाई प्हरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रीया अघि बढाएको हो।

सार्वजनिक स्थलमा मापासे सेवन गरि अपशब्द बोल्दै होहल्ला गरिरहेको अवस्थामा पुगेको प्रहरीले सम्झाइ–बुझाइ गर्दा उल्टै अपशव्द प्रयोग गरी गाली गलौज गर्दै हातपात गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक जिसीले बताए। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले तीनै जना माथी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए।

सार्वजनिक हित र नैतिकता विरुद्धको कसुर मुद्दामा २५ दिनसम्म हिरासतमा बस्ने र गल्तीको प्रकृती हेरी १० हजार रुपैयाँसम्म धरौटी राखेर निस्कन सक्ने कानुनी व्यवस्था छ।