‘एसिया पुलिस कोलोकियम २०१९’ काठमाडौंमा सुरु


काठमाडौँ । नेपाल प्रहरी र आइसीआरसीको संयुक्त आयोजनामा काठमाडौंमा तीन दिवसीय ‘एसिया पुलिस कोलोकियम २०१९’ सुरु भएको छ । यो हो । एसियाकै पहिलो प्रहरी सम्मेलनको प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् ।

सम्मेलनमार्फत् खनालले समकालीन चुनौति र अवरोधहरूको पहिचान गरेर शान्ति सुरक्षा कायम गर्ने उद्देश्य र त्यसलाई समयमै सम्बोधन गर्न संयुक्त प्रयास भएको उल्लेख गर्दै त्यसको लागि सबैको प्रतिबद्धता, सहयोग र समन्वय आवश्यक रहेको बताए ।

खनालले दण्डहिनता, सुरक्षा चुनौति र आतंकवादको विरूद्ध लड्न सुरक्षा संगठनहरुबिच मजबुत सहयोग र समन्वयको आदान प्रदान हुने विश्वास व्यक्त गरे । सम्मेलनमा विभिन्न १५ देशका उच्च सुरक्षा पदाधिकारीको सहभागिता रहेको थियो । सम्मेलनमा बोल्दै खनालले अपराधीहरुलाई कानुनको दायरामा ल्याउने र सम्भावित अपराधहरुलाई रोक्ने सबैको लक्ष्य रहेको जनाएका छन् । प्रविधिमा भएको प्रगतिसँगै केही व्यक्ति, समूह र संगठनहरूको खराब मनसायले विभिन्न चुनौति र अवरोधहरू देखिएको र त्यस्ता क्रियाकलाप रोक्न सबै राष्ट्रहरु एकजुट भई दृढ प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने खनालले बताए ।

यस्तै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका, आतंकवाद नियन्त्रण, अन्तरदेशीय अपराध रोकथाम, संगठित अपराध, लागूऔषध नियन्त्रण, हातहतियार ओसार पसार नियन्त्रण, साइबर अपराध, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतिविरुद्ध प्रहरी सक्रिय रहेको खनालले दाबी गरेका छन् ।