स्वस्थ्य मासुको सरकारी पोस्टरमा गाईको तस्वीर, राप्रपाको आपत्ति


काठमाडौं । पशु सेवा विभागले जारी गरेको पोस्टरमा गाईको तस्वीर राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । दशैं लक्षित प्रचार सामाग्रीमा हिन्दुहरुको आस्था एवं गाईको तस्वीर संलग्न गरिनु दुर्भाग्यपूर्ण भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।

यस्तै प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्र्दै धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा त्रुटि हुनु सामान्य विषय हुन नसक्ने बताएका छन् । यस विषयमा छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपाले माग गरेको छ ।

‘यो नियतवश वा भूलवश के हो भन्नेबारेमा अविलम्ब छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’ राप्रपाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । राप्रपाले सरकार समक्ष उक्त प्रचार सामाग्री संकलन, जफत र नष्ट गर्न माग गरेको छ ।

मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखेको उक्त पोष्टरबाट गाईको तस्वीर हटाउने तयारी भइरहेको पशु सेवा विभागले जनाएको छ ।