धूप बनाउने तालिम सम्पन्न

0
Shares

भक्तपुर, (नेस) । बुद्ध सामुदायिक सिकाइ केन्द्र गठ्ठाघर भक्तपुरले स्थानीय महिलाका लागि नेपाली धूप बनाउने तीन दिने सीप मूलक कार्यक्रमको आयोजना गर्यो।

असोज ३ देखि ५ गतेसम्म सञ्चालित सो तालिममा प्रशिक्षक रुपा वैद्यले सहजीकरण गर्नुभएको थियो भने १५ जना महिलाको सहभागिता रहेको थियो।

केन्द्रका संरक्षक एवम् संस्थापक अध्यक्ष रामप्रसाद न्यौपानेले उद्घाटन गर्नुभएको सो तालिमको उद्देश्यबारे उपाध्यक्ष धीर्जबहादुर कायस्थले प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको समापनका अवसरमा मध्यपुर ठिमी नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका शाखाअधिकृत नेत्रप्रसाद दाहालले तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

केन्द्रले वर्तमान अवस्थामा रासायनिक धूपबाट स्वास्थ्यलाई हानी पुर्याउने भनी वैज्ञानिक र चिकित्सकहरूलाई उद्धृत गर्दै प्रकाशित/प्रसारित समाचार सामग्रीलाई गम्भीररूपमा लिई त्यसको विकल्पका लागि थोरै भएपनि सहयोग पुर्याउन सकियोस् भन्ने उद्देश्यका साथ नेपाली धूप बाट्ने तालिम सञ्चालन गरेको जनाएको छ।

केन्द्रका अध्यक्ष बद्री तिवारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रका सचिव सीता सुवेदीले स्वागत मन्तव्य दिनुभएको थियो भने संरक्षक रामप्रसाद न्यौपाने, नेत्रप्रसाद दाहाल, प्रशिक्षक रुपा वैद्य, सहभागीद्वय अम्बिका बास्कोटा र मुना प्रसाईंले तालिमको उपादेयता, आवश्यकता र अनुभवलगायत विविध पक्षमा आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।