इमेज अवार्डमा महेश र अञ्जु सर्वोत्कृष्ट ओमविक्रमलाई लाइफ टाइम अवार्ड


ईमेज च्यानलले गत शनिबार राजधानीमा इमेज अवार्डको २१औं संस्करण भव्यरूपमा सम्पन्न गरेको छ।
होटल सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई प्रदान गरियो।

मृगौलाको उपचारका क्रममा अमेरिकामा रहेका विष्टको अवार्ड उनका छोरा र दिदीले ग्रहण गरेका थिए। अमेरिकाबाट भिडियो सन्देश पठाउँदै गायक विष्टले अवार्डले आफूलाई खुसी तुल्याएको बताए।

कार्यक्रममा बाबाको टोपी बोलको गीतबाबट यस वर्षको सर्वोत्कृष्ट गायकको अवार्ड महेश सेवाले चुमे भने अब छाडेर जानेबाट गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमिन्।

महेश काफ्ले र मेलिना राईको गीत नाच फिरिरी वर्षको सर्वोत्कृष्ट गीत ठहरिएको कार्यक्रममा बानिका प्रधानले मायाको रंगबाट पप गायिकाको अवार्ड उचालिन् भने गल्तीबाट विक्रम बरालले पप गायकको अवार्ड उचाले।

आशिष सचिन र मेलिना राईको पिरिम नलाउनीले पब्लिक च्वाइस अवार्ड आफ्नो बनायो भने खुर्सानी डल्लेबाट भीषण मुकारुङ लोकगीत गायक, गलबन्दीबाट प्रकाश सपुत र शान्तिश्री परियारले दोहोरी गायन, सालको पातबाट कुलेन्द्र विक सर्वोत्कृष्ट दोहोरी गीत, तिम्रो हालबाट वीरेन्द्र रचनाकार, जलिरहें रातमाबाट स्वरूपराज आचार्य र बानिका प्रधान युगल गायनको विजेता भए।

त्यसै गरी, दिल खोलेरबाट तारा तिवारी नवकलाकार तथा यो मनबाट संगीततर्फको अवार्ड त्रिशला गुरुङ र रोहित शाक्यले लगे भने लुकीछिपीबाट नवीन चौहान सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, जाउँ हिँडबाट हरि हुमागाईं म्युजिक भिडियो छायाँकार, आँखाका जोरबाट लोकेश ब्रजाचार्य म्युजिक भिडियो सम्पादकको अवार्ड विजेता भए।

सर्वोत्कृष्ट म्युजिक भिडियो विधामा आर्टमान्डु नेपालको गीत लुकीछिपीले अवार्ड पायो। फिल्मतर्फ सर्वोत्कृष्ट फिल्मी गीतको अवार्ड दाल भात तरकारीको भिजिट भिसाले पाया भने गोपीबाट विपीन कार्कीले अभिनेता र बुलबुलबाट स्वस्तिमा खड्काले अभिनेतृको अवार्ड पाइन्।

जात्रै जात्राका निर्देशक प्रदीप भट्टराईले फिल्म निर्देशकको अवार्ड उचाले। इमेज अवार्डले यसै वर्षबाट फिल्मका अभिनेता, अभिनेतृ र निर्देशकलाई अवार्ड प्रदान गर्न थालेको हो।

कार्यक्रमा इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले गीत–संगीतमा लागेकालाई इमेज च्यानलले प्रोत्साहन र हौसलाको बाटो कोरेको बताए। समारोहमा कलाकारहरूले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।