ताम्रकार फुटसल शुरू


नेपाल समाचारपत्र, काठमाडौं। ताम्रकार समाजको आयोजनामा तथा द ब्रिटिस कलेजको प्रायोजनमा द ब्रिटिस कलेज चौथो ताम्रकार फुटसल प्रतियोगिता २०१९ शुरू भएको छ।

सानेपास्थित फिल्ड फुटसल ग्राउन्डमा भइरहेको उक्त प्रतियोगितामा कुल आठ उद्योग र कम्पनीले सहभागिता जनाइरहेका छन्।

प्रतियोगिताको उद्घाटन समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकार तथा कलेजका प्रिन्सिपल जोय फोस्टर इलिसले संयुक्तरूपमा गरे। प्रतियोगितामा लिग चरणका खेलहरू सम्पन्न भएका छन्। सेमी फाइनल तथा फाइनल खेल यही असोज ११ गते शनिबारका दिन खेलिने छन्।

खेलकुदको माध्यमबाट भाइचारा अभिवृद्धि गर्न र समाजमा सकारात्मक परिवर्तनको मुख्य उद्देश्यका साथ भइरहेको उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका ६० भन्दा बढी खेलाडीले सहभागिता जनाइरहेका छन्।

लिग चरणका खेलपछि करुणामय मेटल क्राफ्ट, विके सुनचाँदी पसल, भैरवनाथ आइरण इन्डट्री र टेक म्याक्स टाइगर सेमी फाइनलमा प्रवेश गरेका छन्। यसअघि करुणामय मेटलक्राफ्टले दिल ह्यान्डीक्राफ्टलाई २–० र ताम्र मेटल वर्कलाई १–० गोलको अन्तरले पराजित गर्याे।

विके सुनचाँदी पसलले गेन्ज गराजलाई २–० र ओरियन इलेक्ट्रीकललाई १–० गोल अन्तरले हरायो। त्यस्तै टेक म्याक्स टाइगरले दिल ह्याण्डीक्राफ्टलाई २–०, भैरवनाथ आइरण इनडस्ट्रीले गेन्ज गराजलाई १–० ले हराएको थियो। भैरवनाथ आइरण इनडस्ट्रीले विके सुनचांदी पसललाई ३–१ ले पराजित गरेको थियो।