गणतन्त्रमाथि खतरा छैन भए प्रतिकार गरिन्छ ः प्रचण्ड


सरोज यादव, विराटनगर।नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको बताउनुभएको छ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरागर्दै उहाँले अहिले परिवर्तन र व्यवस्थाप्रति कुनै खतरा नभएको उल्लेख गर्नुभयो।

उहाँले परिवर्तनका विरुद्ध अराजक र उच्छृंखल गतिविधि भने देखिन थालेको भन्दै त्यसको प्रतिकार गर्न सरकार र सरकारमा रहेका राजनतिक दल तथा सरकारबाहिर रहेका राजनितिक दल सहमत रहेको बताउनुभयो।

उहाँले संविधान र राज्य प्रणालीलाई दोष देखाएर उच्छृंखल गतिविधि गर्नेलाई राजनितिक र सांस्कृतिक बहसवाट परास्त गरिने बताउनुभयो। भ्रष्ट्राचार नियन्त्रणमा सरकार सफल हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमा चाँडै देखिने गरी विकास निर्माणले गति लिने र सुशासन कायम हुने उल्लेख गर्नुभयो।

पार्टीभित्र सरकारको कामको समीक्षा भइरहेको भन्दै उहाँले सरकारले काम नै नगरेको भन्ने विषयमा प्रचारबाजी गरिएको र त्यसमा सत्यता नभएको दाबी गर्नुभयो। अध्यक्ष दाहालले मन्त्रीमण्डल पुनर्गठनबारे प्रश्न नसोधिदिन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो।

‘मन्त्रीमण्डल पुनर्गठिन गर्ने नगर्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूको कुरा हो अध्यक्ष,’ दाहालले भन्नुभयो, ‘मलाई यो कुरा नसोधिदिनुहोस्। मलाई यो कुराले हैरान पारेको छ।’ सञ्चारकर्मीले प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा राखेको जिज्ञासामा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिनुभयो।

प्रधानमन्त्रीले नर्मल काम गर्न थालेको भन्दै उहाँको स्वास्थ्य ठिक नभएको भन्ने प्रचार सही नभएको’ उहाँले बताउनुभयो। संविधान दिवसका दिन सरकारमा रहेका पार्टीका नेता कार्यकर्ताले संविधान जलाएको विषयमा छलफल भइरहेको बताउँदै दाहालले हिजोका दिनमा कालो दिवस भन्नेहरूमा न समर्थन न विरोध भन्ने ठाउँमा भने आएको बताउनुभयो।

उहाँले गतवर्ष मौलिक हक सम्बन्धी कानुन बनेको, विकास निमार्णको कामले तीव्रता पाइरहेको तथा पेट्रोलियम पदार्थ ल्याउनका लागि पाइप लाइन विस्तारलगायतका महत्वपूर्ण काम भएको बताउनुभयो। मुलुकको आर्थिक वृद्धिदरसमेत बढेको अवस्थामा सरकारले केही गरेन भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो।