बालविकास रणनीति बन्दै


नेपाल समाचारपत्र, काठमाडौं।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँडेलले सरकार प्रारम्भिक बालविकास रणतीति बनाउने योजनामा रहेको बताउनुभएको छ।

प्रारम्भिक बालविकासका लागि संघीय सांसदहरूको सहकार्य समन्वय समूह ककसद्वारा आइतबार ललितपुरमा आयोजित ‘नेपालमा प्रारम्भिक बालविकास प्रवद्र्धन’ पुस्तिका सार्वजनिक गर्ने क्रममा उहाँले दुई तीन महिनाभित्र सो रणनीति तयार हुने उल्लेख गर्नुभएको हो।

आयोगका सदस्य उषा झाको संयोजकत्वमा सो रणनीति तयार भइरहको उहाँको भनाइ थियो।कर्णाली, सुदूरपश्चिम र २ नम्बर प्रदेशमा प्रारम्भिक बालबालिकाको अवस्था कमजोर रहेको बताउँदै डा. कँडेलले ती प्रदेशका स्थानीय तहलाई बालविकासको विषयमा नयाँ योजना ल्याउन आग्रह गर्नुभयो।

राष्ट्रियसभाका सांसद डा. विमला राई पौडेलले प्रारम्भिक बालविकासका लागि पहुँच नपुगेका र पुगेका स्थानमा पनि गुणस्तरीय सिकाइ नभएको बताउनुभयो।

प्रदेश २ का प्रदेशसभा सदस्य बाबुलाल साहले मानव जीवनको पहिलो खुड्किला बालबालिका भएकाले बालबालिकाको विषयमा संघ, प्रदेश र स्थानीय सरकार लागिपर्नुपर्ने बताउनुभयो।

पूर्वमन्त्री कुन्तीकुमारी शाहीले प्रारम्भिक बालविकास गर्न संस्कारको विकास हुन जरुरी रहेको बताउँदै गर्भावस्थादेखि बालबालिकालाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।

सेतो गुराँस राष्ट्रिय बालविकास केन्द्रले राष्ट्र संघीय बालकोष (युनिसेफ), प्लान नेपाल र सेभ द चिल्ड्रेनको आर्थिक एवं प्राविधिक सहयोगमा सार्वजनिक गरेकोे पुस्तक मधु राजभण्डारी, श्रीहरि खनाल, डा. मीनाक्षी दाहाल र डा. किशोर श्रेष्ठले तयार गर्नुभएको हो।

प्ररम्भिक बालविकासको सम्पूर्ण विषय समेटिएको उक्त पुस्तकमा बाल विकाससम्बन्धी पृष्ठभूमि, यसमा लगानीको औचित्य, अन्तर्राष्ट्रिय अभ्यास, नेपालमा प्रारम्भिक बालविकास, सञ्चालित कार्यक्रम, विभिन्न निकायको भूमिका, गुणस्तर विकास र विस्तारका सम्भावनासहित ७ इकाइ राखिएका छन्।

हाल सेतो गुराँसमा सामुदायिक बालविकास केन्द्र÷बालकक्ष तथा पूर्वप्राथमिक कक्ष गरी ३६ हजार ५ सय ६८ कक्षा सञ्चालित छन्।