टाढा जाँदा ‘प्रहरीलाई जानकारी दिनुस् !’


ईश्वरराज ढकाल, काठमाडौं।चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ।

उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ।

उपत्यकाको तीनैवटा परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ।

‘हामीले चाडबाड लक्षित सुरक्षाअन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं।’ –सार्वजनिक सुरक्षा योजनाबारे जानकारी गराउँदै महानगरीय प्रहरी परिसर काठमाडांैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले नेपाल समाचारपत्रसंँग भन्नुभयो।

काठमाडौंले जस्तै ललितपुर र भक्तपुर परिसरले पनि सुरक्षा योजना तयार पारेको छ।तीनै परिसरले विशेष गरी उपत्यकाबाट बाहिर जाने–भित्रिने नाकामा कुकुरले जाँच गर्ने व्यवस्था मिलाएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुवेदीले विशेष गरी थानकोट, फर्पिङ नाकामा सो व्यवस्था गरेको छ।

त्यस्तै भक्तपुर परिसरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले पूर्वबाट काठमाडांै फर्किने जगाते नाकामा कुकुरले सुरक्षा जाँच शुरू गरेको जानकारी दिनुभयो।

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले तीनै परिसरले सुरक्षा योजना तयार गरेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले विगतमा भएको सुरक्षा योजनाको तथ्यगत अनुसन्धान गरी यो वर्षको सुरक्षा योजना तयारी गरेको जानकारी दिनुभयो।

उहाँले विशेष गरी ललितपुरसँग जोडिएका नाकामा विशेष सुरक्षा गस्ती परिचालन गर्ने, आर्थिक कारोबार हुने बैंक र वित्तीय संस्थामा विशेष सुरक्षा सतर्कता अपनाउने, चोरी डकैतीलाई नियन्त्रण गर्न विशेष टोली परिचालन गर्ने, मापसे चेकिङलाई कडाइ गर्नेलगायतका सुरक्षा योजना तयार गरिएको बताउनुभयो।

ललितपुर पसिरसले विगत पाँच वर्षको चोरी र डकैती घटनाको अनुसन्धान गरी थप सुरक्षा योजना तयार गरेको जनाएको छ।

उपत्यकाको तीनैवटा परिसरले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीयसँग मिलेर करिब एक महिना सुरक्षा योजना तयार गरेको छ।

काठमाडौं परिसर प्रमुख एसएसपी सुवेदीका अनुसार १४ क्षेत्र विभाजन गरी ६० स्थानमा पैदल गस्ती, ६७ स्थानमा स्थायी र ५७ स्थानमा अस्थायी पिकेटिङ, ३५ साइकल, ८३ मोटरसाइकल, ५६ सीआरभी र ४८ मोबाइल गस्ती तोकिएका छन्।

त्यस्तै सादा पोसाकका ७७ जनाको सूचना संकलन टोली, ३० सिल एन्ड सर्च, ३० कर्डन सर्च, ३० स्थानमै एम्बुसिङ र निगरानी गर्ने भएको छ।

परिसरले काठमाडौं भित्रिने सात स्थानमा तालिमप्राप्त कुकुरसहित चेकजाँच, तीन स्थानमा स्ट्याकिङ, ५३ वटा हात हतियारसहित मोटरसाइकल गस्ती, २५ स्थानमा सिनियर प्रहरीको कमान्डमा तत्काल परिचालन गर्ने टोली र कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गाेंगबु, गौशाला, तिलगंगा, चाबहिल, कोटेश्वर, बालाजु चोक, माछापोखरी चोक, जोरपाटीलगायतका १४ स्थानको टिकट काउन्टरमा सुरक्षा जाँच गर्ने भएको छ।