सीको भ्रमणबारे विशेष बैठक


टीका बन्धन, काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन्।

आइतबार दिउँसो चारवटै सुरक्षा प्रमुखबीच छलफल भएको बताउँदै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने– ‘चीनले सुरक्षाबारे विशेष चासो लिएको छ, नेपालले कस्तो सुरक्षा ‘एस्योर’ गर्छ भन्ने चीनको चासो हो।’

चारवटै सुरक्षा निकायबाट २७ हजार सुरक्षाकर्मी परिचालन गर्ने प्रारम्भिक सुरक्षा खाका नेपाली पक्षले चीनलाई ब्रिफिङ गरेको ती अधिकारीले बताए।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सेनाका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो।

सी भ्रमणकै तयारीस्वरूप नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी र गृहमन्त्री थापाबीच आइतबार भेटवार्ता भएको छ।

सो भेटवार्ता सुरक्षा तयारीकै बारेमा केन्द्रित रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ। सुरक्षाबारे राजदूतको चासो केन्द्रित रहेपछि मन्त्री थापाले यसबारेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो।

‘हामी महामहिम (राष्ट्रपति सी) को भ्रमण सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गर्छौं, कुनै कमी–कमजोरी हुने छैन, यसमा शंका लिनुपर्दैन।’ –मन्त्री थापाले राजदूत हाउलाई दिनुभएको जवाफ उद्धृत गर्दै गृहका एक अधिकारीले भने।

चिनियाँ राष्ट्रपति सी यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउन इच्छुक भएसँगै दुवै मुलुक तयारीमा जुटेका हुन्। तर, भ्रमणको औपचारिक मिति सार्वजनिक भएको छैन।

सी भ्रमणबारे परराष्ट्र मन्त्रालयले गरिरहेको तयारीबारे बारम्बार चासो लिए पनि मन्त्रालयले विस्तृत ब्रिफिङ नगरेको चिनियाँ पक्षको दाबी छ।