चट्याङ र करेन्टले पर्सामा दुई जनाको मृत्यु


कृष्णउदास खनाल, वीरगन्ज ।

वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आइतबार बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो ।

बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । मृतक रामको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

यसैबीच पर्सामा करेन्ट लागेर एकजना महिलाको ज्यान गएको छ । पर्सा प्रहरीका अनुसार वीरगन्ज १२ मुर्लीमा डेरा गरी बस्दै आएका पर्साको छिपरहरमाइ गाउँपालिकाको वडा नम्बर २ का बृजेश साहकी २४ बर्षीया अनिता देवी आफ्नै कोठामा पंखा चलाउने क्रममा अचानक करेन्ट लाग्दा उनी बेहोस भएको र उनको उपचारका क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।