गोल्डेनगेटको विजयी शुरुआत


काठमाडौं, (नेस)।गोल्डेनगेटले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी शुरुआत गरेको छ।विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेटले एसडीसीलाई ६४–५२ ले पराजित गर्यो।

गोल्डेनगेटका राजीव जोशीले १५ अंक जोडे। चण्डोलस्थित विशाल मिलन केन्द्रको आफ्नै कोर्टमा भइरहेको प्रतियोगितामा आइस वाकर, गोर्खा ब्वाइज र कीर्तिपुरले पनि जित हात पारे।

आइस वाकरले आयोजक बीएमकेलाई ४८–४१ ले हरायो। आइस वाकरका उर्गेनले १७ स्कोर गरे। गोर्खा ब्वाइजले एनसीएचएस क्लबलाई ६७–३० ले पाखा लगायो।

अन्नपूर्णविरुद्धको प्रतिस्पर्धामा कीर्तिपुर ६१–३५ ले विजयी भयो। कीर्तिपुरका सुरज खड्गीले १७ अंक जोडे।साताव्यापी लिग कम नकआउट प्रतियोगितामा १० टिम सहभागी छन्। विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।