पुलिसलाई सर्वाधिक धनराशिको भलिबल उपाधि


नेपाल समाचारपत्र, काठमाडौं।घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

नयाँबसपार्कस्थित ढोरपाटन स्पोट्र्स क्लबको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो।

राष्ट्रिय खेलाडीले भरिएको दुई टोलीबीचको फाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुन अनुमान गरिए पनि पुलिसले एकपक्षीय नतिजा निकालेर उपाधि जित्यो। पुलिस २५–२२, २५–२२ र २५–२२ ले नै विजयी हुन सफल भएको थियो।

सबै सेटमा आर्मीले शुरुआती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो। चोटका कारण मुख्य स्पाइकर मानबहादुर श्रेष्ठबिना फाइनल खेलेको आर्मी पुलिससामु कमजोर नै देखिएको थियो। मानबहादुर गत सोमबार भएको फाइनल दौरान नै बायाँखुट्टामा चोटका कारण बाहिरिएका थिए।

उपाधिसँगै पुलिसले ५ लाख रुपियाँहात पार्यो। दोस्रो भएको आर्मीले ३ लाख रुपियाँमा चित्त बुझायो। तेस्रो भएको गण्डकी प्रदेशले १ लाख तथा चौथो भएको नेपाल एपीएफ क्लबले ५० हजार रुपियाँहात पार्यो।

व्यक्तिगत विधामा च्याम्पियन पुलिसले वर्चस्व जमाउँदा आर्मीका धनबहादुर भट्ट क्षत्री प्रतियोगताको सर्वाेत्कृष्ट खेलाडी चुनिए। उनले एक थान टीभीएस मोटरसाइकल हात पारे।

पुलिसका कुलबहादुर थापा बेस्ट स्पाइकर, कप्तान इमबहादुर राना सेटर, द्वारिका थापा सर्भर, भीम गाहामगर लिवेरो र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए। गण्डकी प्रदेशका याम क्षत्री उत्कृष्ट ब्लकर चुनिए। व्यक्तिगत विधाका उत्कृष्टहरूले जनही १०–१० हजार रुपियाँपाए।

प्रगतिशील युवा नेपाल गोरखा काठमाडौंले आयोजनामा गत भदौं २४ बाट शुरू भएको प्रतियोगितामा विभिन्न ८ टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

साउन २८ मै फाइनल हुने भए पनि वर्षाका कारण प्रतियोगिता लम्बिन पुगेको थियो। सोमबारलाई तय फाइनल खेलको तेस्रो सेट चलिरहँदा वर्षा भएपछि मंगलबारलाई सारिएको थियो।

मंगलबार खेल नै शुरू हुन नसकेपछि आयोजकले रेफ्री कमिटी र फाइनलका दुई टोलीबीचको प्रतिनिधिसँगको सल्लाहमा शनिबारका लागि फाइनल तय गरेको थियो। त्यसअघि दुई दिन बुधबार र बिहीबार १३औं सागका लागि राष्ट्रिय टोलीको छनोट कार्यक्रम रहेको थियो।