अब जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने


यमलाल भुसाल, बुटवल । प्रदेश नं. ५ को बजेट अधिबेशन अन्त्य भएको छ । गत जेठ २ गते सुरु भएको प्रदेशको चौथो अधिबेशन एवं बजेट अधिबेशन ४ महिनामा अन्त्य भएको हो ।

यस बीचमा जम्मा १० वटा विधेयक प्रदेश सभामा पेश भएका थिए । जसमध्ये ९ वटा विधेयक पास भएका छन् । शुसासन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिमा छलफलकै क्रममा भएकाले यो विधेयक भने आउने हिउंदे अधिबेशनमा पास हुनेछ ।

चौथो अधिबेशनको ३२ औ बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक बहुमतले पारि भएको छ । प्रदेश ५ का विभिन्न स्थानीय तहमा निर्वाचित भएका तर, सरकारका सेवा निवृत्त कर्मचारीलाई दोहोरो सुविधा दिने गरी ऐन संशोधन गर्न बनेको विधेयक बिहीबारको बैठकले बहुमतले पारित गरेको हो ।

जनप्रतिनिधीलाई दोहोरो सुविधा दिने गरी ऐन संशोधन गर्न बनेको विधेयकप्रति जनमानसले असन्तुष्टि जनाएपनि अन्ततः प्रदेश सभाको बैठकले ऐन संशोधन विधेयक पारित गरेको छ । यो निर्णय प्रदेशसभाबाट पारित भएसंगै अब जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने छन् ।

प्रदेशका १ सय ९ स्थानीय तहमा ३७ जना भन्दा बढी दोहोरो सुविधा लिने जनप्रतिनिधि छन । यस अघि प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दोहोरो सुविधा लिन नमिल्ने व्यवस्था गरेको थियो ।

ऐनको दफा ३ र ८ संशोधन गरिएको हो । त्यस अघि बजेट अधिबेशनको अन्त्य हुनु अघि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विधेयक अधिबेशन समेत मानिएको चौथो अधिबेशनले मुलत काम गर्ने बाटो खुल्ला भएको बताउनु भयो ।