नियन्त्रित लागूऔषध सहित पक्राउ


न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शान्तीनगरबाट नियन्त्रित लागूऔषध नुर्फिन १ हजार ३७ एम्पुल, डाइजेपाम १ हजार ४७ एम्पुल र फेनारगन १ हजार ४२ एम्पुल सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत डुमरवाना बैरगनिया ठेगाना भएका ३७ वर्षीय राजा कुणाल, ३८ वर्षीय अभिशेक कुमार जयसवाल र ३२ वर्षीय राजेश कुमार जयसवाल रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बिआर ३० पि ८६०७ नम्बरको गाडी जाँच गर्दा गाडीमा उक्त लागूऔषध फेला पारी उनीहरुलाई गाडी सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १० एम्पुल, फेनारगन ३ सय ७५ एम्पुल र नुर्फिन ४ सय १५ एम्पुल सहित ४ जनालाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिराहा, गोलबजार नगरपालिका-४ बस्ने ४२ वर्षीय उतिमलाल साह, सोही नगरपालिका-३ जमद बस्ने २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका-१३ बस्ने ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रे रोशी गाउँपालिका-७ बस्ने २८ वर्षीय पेमा लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उतिमलाल साह कर्तव्य ज्यान मुद्धामा २ वर्ष ९ महिना सिराहा कारागारबाट कैद भुक्तान गरेको, सुजेन्द्र लोहनी लागूऔषध मुद्धामा २ वर्ष सिराहा कारागारबाट कैद भुक्तान गरेको, पेमा लामा डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना काभ्रे तथा सिराहा कारागारबाट कैद भुक्तान गरेको र अशोक तामाङ जबरजस्ती करणी मुद्धामा २ वर्ष ६ महिना सिराहा कारागारबाट कैद भुक्तान गरी सकेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्कबाट धोबिघाट बस्ने २६ वर्षीय सुवाश रानामगरलाई नियन्त्रित लागूऔषध डाईजोपान ९ एम्पुल, नुर्फिन ६ एम्पुल र फेनारागन ८ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरी बा.६६ प २९६९ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।