सङ्घीयता सिकाइका क्रममा छः मन्त्रीभट्टराई


न्युज अफ नेपाल, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालका लागि सङ्घीयता नयाँ विषय भएकाले सरकार त्यसको अभ्यास सिक्ने क्रममा रहेको बताउनुभएको छ ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले संविधान दिवसका अवसरमा आज आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा उहाँले सङ्घीयता सिक्ने क्रममा कुनै गल्ती भइहालेमा त्यसलाई सच्चाएर अघि बढ्नुपर्ने बताउनुभयो । देशमा अहिले समस्याको चाङ भए पनि तिनलाई समाधान गर्दै अघि बढ्नाको विकल्प नभएको उहाँले औँल्याउनुभयो ।

बेथिति र ढिलासुस्ती हटिनसकेकाले जनताले प्रश्न गर्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । लोकतन्त्र र गणतन्त्रको विकल्प नै नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प त्यो अझै सुदृढ बनाउनु नै हो ।”

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नाचघरका आर्थिक समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । संस्थानका निमित्त महानिर्देशक प्रभाकर शर्माले संस्थानले अहिले यसको उद्देश्यसँग मेल खाने कार्यक्रम न्यूनतम शुल्क लिएर सञ्चालन गर्न प्रेक्षालय उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।

संस्थानले दुई अग्रज गायक प्रेमध्वज प्रधान र ज्ञानु राणालाई रु दश दश हजारसहित सम्मान गर्यो । कार्यक्रममा निमित्त महाप्रबन्धक शर्मासँगै संस्थानका अरु कलाकारले संविधान र नेपाल भ्रमण वर्षसँग सम्बन्धित तथा अन्य जातीय नृत्य प्रस्तुत गरेका थिए ।
  रासस