रामेछापमा विद्यालय पुनर्निर्माणको काम तिब्र, चार वर्षमा एक सय नाैं ओटा बने


रामचन्द्र वि.क., रामेछाप । २०७२ सालको बिनासकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएका विद्यालयको पुनर्निर्माण कार्य रामेछापमा तिब्र रुपमा अगाडी बढेको छ ।

बिनासकारी भूकम्पमा परि जिल्लामा ३ सय ९४ ओटा सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । जस मध्ये अहिले एक सया ९ ओटा विद्यालयको निर्माण कार्य सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख निर्मल घिमिरेले बताउनुभयो । त्यस्तै २७ ओटा विद्यालयको निर्माण सुनिश्चितता भएको, दुई सय २३ ओटा विद्यालय निर्माणाधिन अवस्थामा र ३५ ओटा विद्यालय निर्माण हुन बाँकी रहेको प्रमुख घिमिरेको भनाई रहेको छ ।

उहाँले भन्नुभयो– ‘विभिन्न कारणले सुरुमा ढिला भएपनि अहिले समय सिमा भित्रै निर्माणको काम सक्ने गरी विद्यालय पुनर्निर्माणमा लागीरहेका छौँ, त्यसको लागि निर्माणको जिम्मा लिएका कम्पनी, विद्यालय व्यवस्थापन समिति र गैर सरकारी संघ संस्थाहरुले गरेको कामको गुणस्तरीयता कायम गर्न अनुगमन, सुपरिवेक्षण गर्ने र निर्माण सम्पन्न विद्यालयहरु समुदायमा हस्तान्तरण गर्ने जस्ता कामहरु हामीले गरीरहेका छौँ ।’

भारतीय सरकारको सहयोगमा बन्न लागेका ९ ओटा विद्यालयको पनि टेन्डर आहवनको काम अन्तिम चरणमा पुगेकाले ती विद्यालय पनि समय सिमा भित्रै बन्नेमा आफू विश्वस्त रहेको प्रमुख घिमिरेले बताउनुभयो । त्यसैगरी बाँकी रहेका ३५ ओटा विद्यालय निर्माणको लागि जग्गा व्यवस्थापन, विद्यालय एकीकरण लगायतको काममा स्थानीय सरकारसँग समन्वय भइरहेको उहाँको भनाई छ ।

शर्मा–खानी जेभी काठमाण्डौले दोस्रो चरणमा निर्माण गरिरहेको विद्यालयको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले निर्माण कार्यको गुणस्तरीयतालाई कायम राख्दै चाँडो भन्दा चाँडो विद्यालय निर्माणको काम सक्न निर्देशन दिनुभएको छ ।

त्यसैगरी विद्यालय निर्माण स्थलमै पुगेका नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ र नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले भवन नभएकै कारण जिल्लामा विद्यार्थीहरुको पठानपाठनमा पुगेको समस्यालाई मध्यनजर गर्दै पुनर्निर्माणको काममा कुनै पनि ढिलाई नगर्न आग्रह गरेका छन् ।

उता पहिलो चरणमा १९ ओटा विद्यालय निर्माण सम्पन्न गरी दोस्रो चरणमा १२ ओटा विद्यालय पुनर्निर्माणको जिम्मा लिएको शर्मा–खानी जेभी काठमाण्डौका प्रतिनिधि रामबाबु घिमिरेले कम्पनीले जिम्मा लिएका सबै काम समय सिमा भित्रै सम्पन्न गर्ने दाबी गर्नुभएको छ ।