इन्द्रजात्राका प्रशंसक विदेशी मेयरहरू


सुनील महर्जन, काठमाडौं।भुटान थिम्पु नगरपालिकाका मेयर किन्ले दोर्जीले आफू बुद्धमार्गी भएकाले उपत्यकाका भित्री बस्तीमा रहेका विभिन्न विहार र महाविहार पुग्दा मनमा आनन्दको महसुस भएको बताउनुभएको छ।

पहिलोपटक इन्द्रजात्रा हेरेको बताउँदै मेयर दोर्जीले भन्नुभयो– ‘जात्रा त गज्जबै लाग्यो। कति सुन्दर र कलात्मक विहार, बहाबही बौद्ध संस्कृतिको जीवन्त भण्डार रहेछ। विहारहरूलाई संरक्षण गरी राख्नुपर्दछ।’

विश्वका सुखी राष्ट्रमध्ये भुटान अग्रस्थानमा रहेको छ। त्यही देशका मेयर दोर्जीले संस्कृति सुखको ठूलो स्रोत रहेको विचार पनि राख्नुभयो।

नेपाली भाषा प्रस्ट बोल्ने दोर्जीले आधुनिक विकाससँगै अमूर्त संस्कृति हराउँदै जाने हो कि भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ।

‘सबैलाई विकास चाहिएको छ। विकास हुनुपर्दछ। तर, सबैले भन्ने गरेजस्तो विकासको मोडेलले कतै यी संस्कृति क्रमशः हराउँदै जाने त होइन भन्ने हामी भुटानीमा चिन्ता छ। मलाई लाग्दछ, नेपालीले पनि यसबारे चिन्ता लिनुपर्दछ।

चिन्ता लिनु आवश्यक पनि छ’, चिन्ता लिनुपर्ने कारण बताउँदै उहाँले भन्नुभयो– ‘अहिले ठूल्ठूला शहर बसाल्ने, भवन बनाउनेलाई मात्र विकासका रूपमा बुझ्ने गर्छन्। जीवनशैली बदलिएको छ।

संस्कृतिबारे खासै वास्ता छैन। जीवनमा संस्कृतिको ठूलो महत्व छ। संस्कृति सुखको स्रोतरूपमा हामी लिन्छौं। यसले मानिसलाई सामाजिकीकरण, सामूहिकतालाई जोड दिन्छ। त्यसैले विकासको परिभाषामा संस्कृति, मानसिक सुख पनि अटाउनुपर्दछ।’

भुटान फर्किएपछि इन्द्रजात्रा हेर्न जान सबैलाई अनुरोध गर्ने बताउँदै दोर्जीले नगरपालिकाका टोलीलाई नेपाल गएर इन्द्रजात्रा हेर्न भन्न तथा भुटानीलाई नेपाल गएर जात्रामा रमाउन सल्लाह दिने बताउनुभएको छ।

इन्द्रजात्राको रौनकलाई आ–आफ्नो देशमा प्रचार गर्नेमा उहाँ एक्लो हुनुहुन्न। ‘यहाँको संस्कृति हेर्न जान र त्यसबारे नगरबासीलाई जानकारी दिनेछु’, भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर अवतार सिंहले भन्नुभयो– ‘नेपाल भ्रमण मैले सोचेभन्दा धेरै राम्रो भयो।

जीवन्त संस्कृति निकै राम्रो लाग्यो।’ उपत्यकाको भित्री बस्तीको संरचनालाई निकै गहिरिएर बुझ्ने मौका मिलेको बताउँदै मेयर सिंहले भन्नुभयो– ‘यहाँको बस्ती, संस्कृतिले मनमा कहिले नबिर्सिने छाप बसेको छ।’

चीनको लान्जाउ कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ सिओहाङले नेपालको कला, संस्कृतिबारे सुनिरहेको बताउँदै अहिले नजिकबाट हेर्ने मौका पाएको बताउनुभयो।

‘यहाँका संस्कृति सम्पदा र इन्द्रजात्रामा मानिसको उत्साह देख्न पाएकोमा निकै खुसी लागेको छ।’ –उहाँको भनाइ थियो।चीनमा विकाससँगै संस्कृति, सम्पदाको संरक्षणमा सरकारले ठूलो लगानी गरिराखेको बताउँदै संस्कृति बचाउन सरकार र जनता मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

काठमाडौं महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा हेर्न आएका पाँच देशका मेयरसहित ४१ जना पाहुना इन्द्रजात्रामा रम्दै बिर्सिनै नसकिने अनुभूति संगालेको दृश्य यसपटकको इन्द्रजात्रामा नौलो रह्यो।

चीनको सियान, छेन्दु, सेन्जेन र नान्जिन, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरका प्रतिनिधि पनि त्यस टोलीमा रहेका छन्।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विदेशी पाहुनालाई बोलाएर नेपालको संस्कृति, सम्पदा र परम्पराबारे जानकारी गराएको बताउनुभयो।

‘पाहुनालाई बोलाएपछि रातारात बिग्रिएका सम्पदालाई लिपपोत गर्ने र टालटुल गरेर देखाउने चलन छ’, उहाँले भन्नुभयो– ‘हामीले यसपटक विदेशी पाहुनालाई भित्री शहरका धेरै ठाउँ घुमाएर खुला संग्रहालय अवलोकन गराएका छौं।’

नेपाल पर्यटकका लागि आकर्षक र सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गरेको मेयर शाक्यले बताउनुभयो। इन्द्रजात्रालाई विश्वसामू चिनाउनका लागि महानगरपालिकाले विदेशी पाहुनालाई बोलाएको उहाँको भनाइ थियो।