सरकार आफै घटना घटाउने गरेको आरोप काङ्ग्रेसकाे आरोप


काठमाडौँ  । नेपाली काङ्ग्रेसले जागरण अभियानका क्रममा बाँकेका जिल्ला सभापतिलगायत कार्यकर्तामाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गर्दै आज माइतीघरमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरले आयोजना गरेको कार्यक्रममा काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकको नागरिकको सुरक्षा गर्ने जिम्मा सरकारको भए पनि सरकार आफै घटना घटाउन उद्दत रहेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसको कार्यक्रममाथि सत्तारुढ दलले नै दमनको नीति लिएको भन्दै विरोध स्वरुप आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले काङ्ग्रेस माथि भएको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएकाले दोषीलाई कारवाही नगरे काङ्ग्रेसले देशभर आन्दोलन गर्ने बताउनुभयो ।

यसैबीच काङ्ग्रेस तीनै जिल्लाका सभापतिले आज बिहान गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनामा सङ्लग्नलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
रासस