पोखरामा भारतीय पर्यटकसहित २ को मृत्यु   


न्युज अफ नेपाल, पोखरा । पोखरा महानगरपालिका–१ स्थित पर्यटकीयस्थल केआईसिं पुल नजिकैको उद्यानमा अचानक लड्दा १ भारतीय पर्यटकको मृत्यु भएको छ ।

पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार उद्यानमा अचानक लडेर बेहोस भएका उनलाई आफन्तको सहायताले उपचारका लागि फिस्टेल अस्पताल पुर्याइएकामा चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् ।

त्यसैगरी पोखरा महानगरपालिका साहारा टोलस्थित सुनिल परियारको घरमा बस्दै आएका १ मजदूरको मृत्यु भएको छ । म्याग्दी जिल्लाको दरवाङ घर बताउने ५५ वर्षीय काइला मगर नाम बताउने उनी आज बिहान सुत्ने कोठामा मृतास्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनाका बारेमा  थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।