पेशाप्रति प्रतिबद्ध र कामप्रति जवाफदेहिता,अहिलेका शिक्षकको आवश्यक्ताः मन्त्री पोख्रेल


न्युज अफ नेपाल, मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सामुदायिक विद्यालयमा स्थानीय तहको हस्तक्षेप बन्द गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री पोख्रेललले जथाभावी शिक्षक नियुक्ति गर्ने, सरुवा गर्नेभन्दा पनि शिक्षाको आर्थिक समस्या, भौतिक समस्या तथा शिक्षकबीचमा भएका गुटबन्दी अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

प्रदेश नम्बर-३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणलीको सवलीकरण’ भन्ने नाराका साथ सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढीकरण विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको शनिबार हेटौँडामा उद्घाटन गर्दै मन्त्री पोख्रेललले यस्तो बताउनुभएको हो ।

शिक्षकहरु पार्टीको कार्यसमितिमा बसेर काम गर्न नहुने पनि मन्त्री पोख्रेललले सुझाव दिनुभयो ।

मन्त्री पोख्रेललले राजनीतिमा धेरै बहस, छलफल हुने तर शिक्षामा धेरै छलफल नभएका कारण गुणस्तर राम्रो हुन नसकेकाले शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो । विद्यार्थीलाई सुधार गर्न विद्यालयसहित घर, परिवार र समाजबाट पनि सहयोग गर्नुपर्ने मन्त्री पोख्रेललको भनाइ थियो

। मन्त्री पोख्रेलले निजी विद्यालयका विद्यार्थीलाई आमाले, बुवाले विद्यालयसम्म पुर्‍याउने, खाजा लगिदिने, लिएर आउने तर, सामुदायिक विद्यालयमा किन त्यसो नगर्ने त भनेर प्रश्न गर्नुभयो ।

पेशाप्रति प्रतिबद्ध र कामप्रति जवाफदेहिता भएका शिक्षक अहिलेको आवश्यक्ता रहेको बताउँदै मन्त्री पोख्रेललले शिक्षक सकारात्मक भएर परिवर्तनको संवाहकको रुपमा अगाडि बढेमात्र शिक्षामा सकारात्मक परिवर्तन आउने बताउनुभयो ।

सरकारले सार्वजनिक शिक्षामा धेरै लगानी गरे पनि त्यस अनुसार प्रतिफल प्राप्त नभएको बताउँदै मन्त्री पोखरेलले एकै वर्ष काम गरेर राम्रो रिजल्ट आउने होईन शिक्षामा गुणस्तर ल्याउन लामो समय काम गर्नुपर्ने बताउनुभयो ।