डेंगु अझै नियन्त्रणबाहिर अनुसन्धान नगरी काम गर्दा समस्या


भगवती तिमल्सिना, काठमाडौं। डेंगुले नेपालमा ठूलो त्रास र महामारीकै रुप लिएको अवस्थामा स्वदेशी तथा विदेशीहरूको ध्यानाकर्षण भएकै बेला अर्को रहस्य खुलेको छ।

विश्वले मान्दै आएको गुरु अर्थात् स्वास्थ्य क्षेत्रको मापदण्ड तय गर्ने निकाय विश्व स्वास्थ्य संगठनले नेपालका छिमेकी मुलुकमा अनुसन्धान गरी कसरी अघि बढ्ने गाइड लाइन दिएको र नेपालमा अनुसन्धान नै नगरेका कारण काम गर्नै अप्ठ्यारो भएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ।

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय विशेषज्ञ नेपालमा आई विश्वका तथ्यांक पस्किरहँदा नेपालको खासै कुनै तथ्यांक दिन नसक्नुले पनि यो भनाइलाई पुष्टि गर्न मद्दत मिल्छ।

बिहीबार विश्व स्वास्थ्य संगठन, युनिसेफ र ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञहरूले डेंगु नियन्त्रणका लागि अब व्यक्ति–व्यक्तिबाटै खोज तथा नष्ट अभियान शुरु गर्नुपर्ने बताएका थिए।

डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर अभियान’ सर्वव्यापक रूपमा अघि बढाउनुको विकल्प नभएको समेत विश्व स्वास्थ्य संगठनका क्षेत्रीय विशेषज्ञ डा. बीएन नागपालले बताउनुभयो।

उहाँ ४० डेंगुका विषयमा अध्ययन अनुसन्धान गरी भारत, बंगलादेश, पाकिस्तान, चीनलगायतका मुलुकमा प्राविधिक सपोर्ट गर्दै आउनुभएका युवा वैज्ञानिकसमेत हुनुहुन्छ।

उहाँले अन्य मुलुकको अनुसन्धान गरी तथ्यांकका आधारमा बिरामीको अवस्थालाई पस्किरहँदा नेपालको भने अध्ययन अनुसन्धान विश्व स्वास्थ्य संगठनले किन गरेन भन्ने बारेमा चर्चासमेत गर्नुभएन।

उहाँले दक्षिणपूर्वी एसियामा डेंगु बढ्दो मात्रामा रहेको र यसको निर्मूलका लागि घरघरबाट सरसफाइमा लाग्नुपर्ने बताउनुभयो।

उहाँले सरकारको दायित्व के हुन्छ र विश्व स्वास्थ्य संगठनको अनुसन्धान गर्ने दायित्व पुरा नगर्दा कस्तो जटिलता आउँछ भन्ने बारेमा मुखसमेत खोल्नुभएन।

अनुसन्धान गर्ने र गाइडलाइन निर्धारण गर्ने जिम्मेवारी बोकेको निकायका विज्ञबाट विश्वको कुन कुनामा कहिले कति डेंगुका बिरामी थिए भन्ने इतिहास बुझेर कुनै खोजपत्र तयार गर्नेका लागि भने अत्यन्तै उपयोगी सामग्री पस्किएको थियो।

डा. बीएनले सन् १९९६ मा ९ वटा मुलुकमा देखा परेको डेंगु अहिले नेपालसहित १ सय २८ मुलुकमा फैलिएको र फैलँदोक्रम तिव्र भएको जनाकारी गराउनुभयो।

यो उज्यालोमा सकृय हुने पोथी लामखुट्टेको टोकाइबाट कम्तिमा १५ पटकको टोकाइबाट १ हप्तादेखि ४ हप्तासम्ममा फैलन्छ।

लामखुट्टेले पारेको अण्डा ७ देखि १० दिनमा हुर्कने र एक पटकमा ८० देखि १ सय २० वटासम्म अण्डा सफा पानीमा पार्ने हुनाले घरको छतमा जम्मा गर्ने पानी, डे«नमा जम्मा हुने पानी,देखि ट्वाइलेट, नयाँ निमार्ण गरिएका घरवरिपरिका भाँडाकुँडा, अस्पताल, प्रहरी संगठन, गाडीको ग्यारेज, अस्पताललगायतका स्थानमा अझ बढी फैलने बताउनुभयो।

उहाँले अस्पताल र प्रहरी कार्यालय डेंगुका लागि सुरक्षित ठाउँ हुनाको मूख्य कारण धेरै पुराना गाडी मोटरसाइकल जम्मा गरेर राख्ने, पुराना भाँडाकँुडाहरू बाहिरै फाल्ने र पानी जम्ने कारणले घरमा भन्दा सरकारी कार्यालय, स्टोर, ट्वाइलेटजस्ता ठाउँहरूमा डेंगु फैलाउने लामखुट्टे बढी बसेको अन्य मुलुकको अनुसन्धानले देखाएको बताउनुभयो।

डेंगु सार्ने लामखुट्टे कोठादेखि कोठा र एक घरबाट अर्को घरमा सजिलै उडेर जान सक्ने भएकाले पछिल्लो समय नरिवलको तेल लगाउने, घुडामुनि मात्र टोक्छ भन्ने भनाई सत्य नभएको पनि उहाँले औंल्याउनुभयो।

उहाँले भन्नुभयो– ‘व्यक्ति–व्यक्तिमा जनचेतना भयो भने मात्र डेंगु नियन्त्रण सम्भव छ, औषधि तथा खोपको उत्पादन नै नभएकाले अन्य उपाय नै छैन।’

दैनिक प्रयोग गर्ने पानीलाई २–३ दिनमा भाँडा राम्रोसँग माझेर परिर्वतन गरिरहनु जरुरी हुन्छ,’ भन्नुहुन्छ, ‘जसको घरमा डेंगुका बिरामी हुन्छन्, उसलाई मात्र थाहा हुन्छ, डेंगु के हो।’

एक डेंगु संक्रामक लामखुट्टेले एक दिनमा ५ जनासम्मलाई टोक्ने हुनाले यस्तो लामखुट्टेबाट बच्न हरेक व्यक्तिमा सचेतनाको खाँचो छ।

डेंगुले नेपालमा मात्र नभएर भारत, चीन, साउथ कोरिया, मेलेसियाजस्ता देशमा पनि महामारीका रूप लिएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. रुमचेन वान्चुक भन्नुहुन्छ– ‘डेंगु नियन्त्रणका लागि सबैले हातेमालो गर्नु जरुरी छ।’

यो ग्लोबल वार्मिङले गर्दा डेंगु रोग विश्वमा नै नियन्त्रण बाहिर गएको हो। काठमाडौंमा पनि डेंगुको व्यापकतालाई हरेक व्यक्ति र सरकारको पहलले मात्र नियन्त्रण सम्भव छ।’

यता टेकू अस्पतालका एक अधिकारीका अनुसार बिरामीको संख्या घटेको छैन झन्झन् समस्या बढ्दो छ।

बिहीबार पनि बिरामीको लाइन र टिकट लिनेको भिड उत्तिकै थियो भने स्वास्थ्य मन्त्रालयले निःशुल्क गरेको भन्ने भ्रम फैलाएर झन् बिरामीको चाप बढेको छ तर निःशुल्क खोई कहाँ छ यता ५ सय अस्पतालमा र उता ल्याबमा ८ सय तिरेर नै बिरामीले रगत परीक्षण गराउनुपर्छ बेड त जहिले पनि सरकारकोमा सबै रोगीलाई निःशुल्कै हो नि।

सरकारले फैलाएको भ्रमले गर्दा बिरामी थप मारमा परेका छन् धन्न सरकारको बिरोध नगरी पैसा तिरेरै उपचार गराइरहेका छन्।