काठमाडौं महानगरपालिका ‘खुल्ला दिशामुक्त महानगर’ घोषणा


न्युज अफ नेपाल, काठमाडौं । आज काठमाडौं महानगरलाई खुल्ला दिशामुक्त महानगरका रुपमा घोषणा गरिएको छ । महानगरको केन्द्रीय कार्यालयस्थित सभा कक्षमा महानगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको महानगरलाई खुल्ला दिशामुक्त महानगर घोषणा गर्ने कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई महानगर खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा बोल्दै महानगका प्रमुख शाक्यले भने महानगरमा यस अघि नै आधारभूत तहको सरसफाइको मापदण्ड पूरा भएको बताउँदै यसलाई पूर्ण सरसफाइमा रुपान्तरण गर्न नागरिक सचेत हुनु पर्ने र सरकारले अघि सारेका कार्यक्रममा नागरिकसहित साझेदारको सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो । महानगरलाई पूर्ण सरसफाइ क्षेत्र बनाउन पर्याप्त सार्वजनिक शौचालयको आवश्यकता पर्छ, त्यसका लागि हामी प्राथमिकताका साथ काम गरिरहेका छौं । मेयर शाक्यले थप्दै भन्नुभयो ‘काठमाडौंमा ७७ जिल्लाका मानिसबाहेक अन्तरराष्ट्रिय क्षेत्रबाट पनि मानिसहरु आउँछन् । त्यसैले स्थानीयदेखि आगन्तुक सबै मानिसको शौच आवश्यकता पूरा गर्न दिगो समाधानका योजना बनाउँदैछौं ।’

त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं खानेपानी, सरसफाइ र स्वच्छताका लागि जिल्ला स्तरीय समन्वय समितिका अध्यक्ष शिवसुन्दर राजवैद्यले  काठमाडौंलाई खुल्ला दिशामुक्त महानगर घोषणा गर्न यस अघि नै मापदण्ड पूरा भइसकेको भएको बताउँदै शासन व्यवस्था परिवर्तनका कारण ढिला भएको धारणा राख्नुभयो । हामीले काठमाडाैँका सबै नगरलाई खुल्ला दिशामुक्त नगर घोषित गरिसकेका छौं । आउँदो ३१ गते काठमाडौं जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नेछौ ।

घोषणा कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले नागरिकको व्यवहार परिवर्तनले मात्र पूर्ण सरसफाइमा पुग्न सकिने धारणा राख्नुभयो । घोषणा ढिला हुनुको अर्थ मापदण्ड थिएन भन्ने होइन, महानगरलाई त धेरै अगाडि घोषणा गरिसक्नुपथ्र्यो । उहाँको भनाइ थियो । त्यस्तै वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले  घरेलु फोहोर व्यवस्थापनलाई दिगो बनाएर पूर्ण सफाइतिर लाग्ने धारणा राख्नुभयो । कार्यक्रममा खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, महानगरका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।