पुष्कर बुढाथोकी, भक्तपुर।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दलहरूबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्ने बताउनुभएको छ।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा रहेको पुननिर्मित ऐतिहासिक अन्नतलिंगेश्वर महादेव मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले विकास गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभएर सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।
दलीय द्वन्द्वको धङ्धङीबाट लिप्त भएकाले मात्र विकासको विरोध गर्ने उहाँको भनाइ थियो। सुखी नेपाली सम्मृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो।
अहिले विकासका काममा सेवा प्रदायक सरकारी कार्यालयबीच कतिपय अवस्थामा आवश्यक समन्वय नभएको उल्लेख गर्दै उहाँले सरकारले नीति नियम बनाएर समन्वय गर्दा देखा परेको गाँठो फुकाउने पहल शरू गरिसकेको बताउनुभयो।
उपप्रधान तथा रक्षामन्त्री पोखरेलले अहिले राज्यका ३ तहका सरकारबीच कर्तव्य र अधिकार बाँडफाँडका कतिपय सन्दर्भमा आपसी समन्वयको अभाव जस्तो देखिए पनि अब ऐन कानुन ,नीति र संरचना निर्माणपछि राज्यका तीनै तहले अझै प्रभावकारी काम गर्ने बिचार व्यक्त गर्नुभयो।
उहाँले कम्युनिस्टले धर्म मान्दैनन् भन्नु गलत भएको बताउँदै सार्वजनिक ठाउँमा नयाँ मठ, मन्दिर बनाउनु भन्दा भएका पुराना सम्पदाको संरक्षण, प्रवद्र्धन र प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो।
विकासका नाममा सभ्यता र संस्कृतिको विनाश गर्न नहुने बताउँदै विकासमा जनताको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुर संम्पदाको महत्वपूर्ण ठाउँ भएको बताउँदै अनन्तलिंगेश्वरको डाँडाँबाट उपत्यकाको तिनै शहर देख्न सकिने हिमालका २२ वटा हिम शृङ्खला देख्न सकिने यो ठाउँलाई धार्मिक तथा पर्यटकिए हिसाबले पनि महत्वपूर्ण भएको बताउँदै यो अनन्तलिंगेश्वर महादेव मन्दिरलाई त्रिनेन्त्र आध्यात्मिक केन्द्रले यो मन्दिरलाई वृन्दावन बनाउन उद्घोष गरेको उहाँले बताउनुभयो।
कार्यक्रममा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोख्रेल, जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल र पूर्व सांसद केदार सञ्जेललगायतले पुरातात्विक संम्पदाको संरक्षण र संर्बधनमा सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो।
कार्यक्रममा मन्दिर पुननिर्माणमा महत्वपुर्ण सहयोग पुर्याएकोमा पूर्वमन्त्रीद्वय महेश बस्नेत र आनन्दप्रसाद पोखरेललाई सम्मान गरिएको थियो। गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पले क्षति पुगेको मन्दिरको ३ वर्ष ३ महिनापछि पुुनर्निर्माण सम्पन्न भएको हो।
मन्दिरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत १ करोड ६४ लाखको लागतमा पुरातत्व विभागले पुनर्निर्माण गरेको हो। यसैगरी मन्दिरको दुई तहको तामाको छानो ४४ लाख गरी २ करोड ८ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो।
उक्त झोलुंगे पुल भने २५ लाख १५ हजार ५ सय २८ रुपियाँको लागतमा निर्माण भएको थियोे।
समाजसेवी कुमार उप्रेतीको व्यक्तिगत सहयोगमा ४ लाखको लागतमा मन्दिरको स्वर्ण गजूर प्रतिस्थापन गरिएको कार्यक्रम प्रचारप्रसार उपसमितिका संयोजक रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रममा विकासको कार्य महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो।











प्रतिक्रिया