नेपाल–चीनबीच तीन समझदारीपत्रमा हस्ताक्षर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। छिमेकी मुलुक नेपाल र चीनबीच विभिन्न तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

हिमालपारिको जिल्ला मनाङमा विधासम्पन्न अस्पताल निर्माण गर्न र नेपालमा चिनियाँ भाषा सिकाउन चीनबाटै शिक्षक खटाउनेबारेमा सहमति भएको छ।

त्यसै गरी आपत्कालीन अवस्थामा पीडितलाई राहत उपलब्ध गराउन चीनले ५ हजार थान टेन्ट प्रदान गर्ने भएको छ।

सम्झौताअनुसार चीनले गृह मन्त्रालयलाई ५ हजार थान टेन्ट उपलब्ध गराउनेछ।मनाङमा अस्पताल निर्माणका लागि चीनले ३५ करोडभन्दा बढीको सहयोग उपलब्ध गराउने निधो भएको छ।

सो सहयोग ३५ करोड ५७ लाख ४० हजार रुपियाँ हाराहारीको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमबारको विदेशमन्त्रीस्तरीय बैठकमा दुवै मुलुकबीच यस्तो सहमति जुटेको हो।

बैठकपश्चात् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीको उपस्थितिमा दुवै मुलुकका अधिकारीले सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे।

परराष्ट्रका अनुसार सोही बैठकमा विदेशमन्त्री वाङले नेपालका बाढी प्रभावित परिवारका लागि १ करोड ६० लाख रुपियाँ हाराहारीको सहयोग गर्ने घोषणा गर्नुभएको छ।

अस्पताल निर्माण परियोजनाको सम्झौतापत्रमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ र नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले हस्ताक्षर गर्नुभएको छ।

सोमबारको सहमतिअनुसार नेपालमा बर्षेनी चिनियाँ पर्यटकको संख्या बढिरहेको अवस्थामा चीनका स्वयंसेवी भाषा शिक्षक भाषा प्रशिक्षणका लागि नेपाल आउने भएका हुन्।

यसबारेको सम्झौतापत्रमा नेपालका लागि चिनियाँ राजदूत हाउ याङछी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले हस्ताक्षर गर्नुभएको छ।

सोमबार दिउँसो करिब डेढ घन्टाको बैठकमा आपसी हित, द्विपक्षीय सम्बन्ध र चासोका विभिन्न विषयमा छलफल भएको बताउँदै परराष्ट्रका एक अधिकारीले भने– ‘विगतमा दुवैतर्फबाट भएका सहमतिलाई परिणाममुखी बनाउनेबारेमा छलफल भएको छ।’

ती अधिकारीका अनुसार चिनियाँ सहयोगमा नेपालमा पुनर्निर्माण भइरहेका सम्पदाबारे चासो लिएको चिनियाँ पक्षले पुनर्निर्माणमा अझै सघाउने तत्परता देखाएको छ।

उच्चस्तरीय भेटवार्तामा दुवै मुलुकको सम्बन्ध अझै फराकिलो बनाउन उच्चस्तरीय भ्रमण आदान–प्रदान, चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)अन्तर्गतका परियोजना छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।

बीआरआईअन्तर्गत नेपालले तय गर्ने प्रथमिकताका आधारमा चीनले सहयोग उपलब्ध गराउनेबारेमा बैठकले प्राथमिकता पाएको परराष्ट्र स्रोतले जनाएको छ।

नेपालले दुई वर्षअघि नै बीआरआईमा सामेल हुने प्रतिबद्धता जनाए पनि प्रस्ट आयोजना छनोट गर्न नसकेको अवस्थामा यो भ्रमणले नेपाललाई नैतिक दबाब दिएको परराष्ट्र मामिलाका जानकारहरूको बुझाइ छ।

चीनसँगको नेपालको व्यापार, उत्तरी नाका जोड्ने पूर्वाधार सुधार, चीन हुँदै नेपालतर्फ विस्तार गर्ने रेलमार्ग जस्ता विषयमा छलफल भएको बताइएको छ।

बैठकमा निकै चर्चामा रहेको चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको सन्दर्भ जोड्नुभएका परराष्ट्रमन्त्री ज्ञवालीले सीको भ्रमणले आर्थिक विकासतर्फ लम्किरहेको नेपालका लागि प्रेरणा मिल्ने बताउनुभएको थियो।

जवाफमा विदेशमन्त्री वाङले नेपालको चाहनालाई गम्भीरतापूर्वक लिएको बताउँदै उपयुक्त समयमा उहाँको भ्रमण हुने र यसका लागि दुवै मुलुकका कूटनीतिक निकाय सम्पर्कमा रहने बताउनुभएको मन्त्रालय स्रोतले जनाएको छ।

बैठकपश्चात चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

चिनियाँ टोलीले राष्ट्रपति भण्डारीसँग साँझ ६ बजेपछि भेटवार्ता गरेको थियो भने त्यसअघि प्रधानमन्त्री ओलीसँग ओली निवास बालुवाटारमा ५ बजेपछि भेटवार्ता गरेको छ।

राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटवार्तामा पनि आपसी चासोका विविध विषयसहित चिनियाँ राष्ट्रपति सीको भेटवार्ताको प्रसंग जोडिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

विदेशमन्त्री वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो।

वाङले आज मंगलबार सत्तारुढ दलका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ।

चीनका राज्य परिषद् सदस्य एवं समकक्षी वाङसहित चिनियाँ टोलीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार साँझ रात्रिभोजको आयोजना गर्नुभएको छ।
मन्त्री वाङको ‘हाइकिङ’ मोह

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं उपत्यका नियाल्न सोमबार बिहान चन्द्रागिरी पुग्नुभयो। केबुलकार चढेर चन्द्रागिरी पुग्नुभएका उहाँले केहीबेर उपत्यका नियालेपछि हाइकिङ (पदयात्रा) मा रम्नुभयो।

चन्द्रागिरीबाट मातातीर्थ भञ्ज्याङसम्म पुग्नुभएका वाङ पुनः हिँड्दै चन्द्रागिरीसम्म पुगेर केवलकारमार्फत फर्कनुभएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ।

मातातीर्थ पुगेर उहाँले सञ्चालनमा नरहेको रोप वे र आसपासको वातावरण अवलोकन गरेर फर्कनुभएको थियो।

चन्द्रागिरी यात्राको कार्यसूची गोप्य राखिएकाले वाङ केवलकार स्टेसनमा पुगेपछि मात्रै त्यहाँका कर्मचारीले थाहा पाएका थिए।

हाइकिङमा रुची राख्ने वाङ अघिल्लो कार्यकालमा विदेशमन्त्रीकै रुपमा नेपाल आउँदा पनि नगरकोट यात्रामा पुग्नुभएको थियो।