बेनी–जोमसोम सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध


न्युज अफ नेपाल, म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा पहिरो खस्दा आइतबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

घोप्टेभिरमा कालीगण्डकी नदीले तलबाट कटान गर्ने र सडकभन्दा माथिबाट पहिरो खसेर बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनेको मुस्ताङका प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले टेलिफोनबाट जानकारी दिनुभयो । उहाँले अवरुद्ध सडक खुलाउनका लागि मुस्ताङमा उपलब्ध सबै स्रोतसाधनहरु प्रयोग गरिएको बताउँदै कति मिटर सडकखण्ड अवरुद्ध बनेको भनेर अनुमान गर्न नसकिएको बताउनुभयो ।
नदी कटान र पहिरो खसेर कडा चट्टान देखिएपछि अवरुद्ध सडक खुलाउन व्लाष्टिङको तयारी थालिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

जिल्लास्तरीय सुरक्षा निकायको वैठकको निर्णय अनुसार विष्फोटक पदार्थको प्रयोग गरी सडक खुलाउने तयारी भैरहेको प्रनाउ कार्कीको भनाइ छ । अवरुद्ध बेनी–जोमसोम सडक खुल्न दुई तीन दिनको समय लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

घोप्टेभिरमा गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुँदा हिमाली जिल्ला मुस्ताङसँग सीधा यातायात सम्पर्कबिच्छेद भएको छ । सडक अवरुद्ध भएपछि म्याग्दीको बेनीसहित देशका विभिन्न स्थानबाट मुस्ताङका लागि छुटेका सवारीसाधनहरु दानाको काभ्रे र मुस्ताङको जोमसोमबाट छुटेका सवारीसाधन घाँसामा रोकिएका छन् ।

सडक अवरुद्ध बनेपछि मुस्ताङ भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटकहरु, प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शन र कागबेनी तीर्थयात्रामा निस्किएका धार्मिक पर्यटक, सर्वसाधारण, उद्योगी, व्यापारी र कर्मचारीले सास्ती भोगिरहेका छन् । यसैगरी मुस्ताङको विभिन्न ठाउँमा उत्पादित स्याउ ढुवानीमा समेत व्यापारीहरुलाई समस्या भएको छ । घोप्टेभिरमा यसअघि पनि पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध बनेको थियो ।