१२ बूँदे समझदारीमा भारतको संलग्नता नरहेको नेता नेपालकाे दाबी


न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालिन राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले भारतको संलग्नतामा १२ बूँदे समझदारी नभएकोबताएका छन ।लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको विमोचन गर्दै नेता नेपालले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको बताए ।

सो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहिका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई सहभागी गराउन आफ्नो मुख्य भूमिका रहेको नेता नेपालको भनाइ छ ।

नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि प्रचण्ड सो समझदारीका लागि दिल्ली आएको भनाइ व्यक्त गरे ।

तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए ।

सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालले असन्तुष्टि जनाए नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र बिद्रोही माओवादीको तर्फबाट डा बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको बताए ।

शौचालयमा भित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको दाबी छ ।