बिरामी नआएपछि औषधालय सुनसान

0
Shares

विमल विष्ट,डोटी। डोटीमा उपचारका लागि स्वाथ्यकर्मीहरू बिरामीको बाटो कुर्छन् भन्दा अचम्म लाग्न सक्छ तर डोटीको दिपायलस्थित जिल्ला आयुर्वेद औषधालयमा उपचारका लागि स्वास्थ्यकर्मी बिरामीको बाटो कुरिरहेका हुन्छन्। उक्त औषधालयमा कहिलेकाहीँ एक दुईजना मात्रै बिरामी उपचारका लागि आउने गर्छन्।

बिरामी नआएपछि आयुर्वेदिक स्वास्थ्यकर्मीहरूले औषधालय रुंगेर मात्र बसिरहन्छन्। दिनहुँ उनीहरु बिरामी आउलान् र उपचार गरौंला भनेर कार्यालयमा ढुकेर बस्न बाध्य हुने गरेका छन््। औसतमा दैनिक १०–१२ जना बिरामी मुस्किलले उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

यतिमात्र नभई पछिल्लो समय औषधालय पनि सुनसान बन्दै गएको छ। स्वास्थ्यकर्मीहरू सेवा दिन तयारी अवस्थामा भए पनि बिरामी आउन छोडेका कारण औषधालय सुनसान बन्दै गएको हो। करिब २ वर्षदेखि आयुर्वेद औषधालय डाक्टरविहीन भएपछि अहिले उक्त अस्पताल सुनसान बन्न पुगेको औषधालयमा कार्यरत कर्मचारीहरू बताउँछन्।

विसं २०७४ मा उक्त औषधालयमा कार्यरत डा. चेतराज ओझाको अन्यत्र जिल्लामा सरुवा भएपछि सरकारले आयुर्वेद चिकित्सक खटाएको छैन। ‘डाक्टर भएपछि खै किन हो, बिरामीहरू हुरुरु आउँछन्’, औषधालयकी कविराज निरीक्षक एवम् औषधालय प्रमुखको जिम्मेवारी पाएकी विद्या घिमिरेले भन्नुभयो, ‘डाक्टरले दिने सेवा हामीले पनि दिने गरेका छौं, तर पनि खै, बिरामीहरू घटेका छन्।’

उहाँले आएका बिरामीहरूको उपचारमा भने कमी नभएको दाबी गर्नुभयो। तर स्थानीयबासी मोहन पनेरुले औषधालय एकान्त स्थानमा हुनु र त्यहाँका सेवा सुबिधाबारे सर्वसाधारणलाई जानकारी नहुँदा बिरामीहरू घटेको बताउनुभयो। ‘औषधालय त बिरामीहरूको सहज आवतजावत हुने ठाउँमा पो हुनुपर्ने हो नि ?’

स्थानीयवासी पनेरुले भन्नुभयो, ‘डाक्टर सा’ब आफै भयो भने सर्वसाधारण र सरोकारवालासँग सम्बन्ध बनाउने, उपचारका लागि प्रेरित गर्ने भएकाले पनि बिरामीहरू बढेका हुन्।’ त्यस्तै दिपायलका अर्का स्थानीय सन्तोष नेपालीले स्वास्थ्यकर्मीहरू बिरामी आए पनि ठीक छ नआए पनि ठीक छ भन्ने मानसिकतामा रहेकाले पनि बिरामीहरू नआउने गरेको आरोप लगाउँछन्।

उनले बिरामीहरूको विश्वास जित्न सक्ने वातावरण औषधालयले तयार गर्न नसकेको दाबी गर्नुभयो। मानिसहरूको न्यून चलहपहल हुने दिपायलको पूरानो बजारमा २०५८ सालमा आयुर्वेदिक औषधालय स्थापना गरिएको थियो। औषधालयमा जान बाटोसमेत छैन। आर्थिक वर्ष २०७३–०७४ मा २ हजार ७३ र २०७४–२०७५ मा १ हजार ५ सय ४० जना बिरामी ओपीडीमा उपचार गर्नका लागि आएको औषधालयको तथ्यांकमा उल्लेख गरिएको छ।

एक वर्षको अवधिमा बिरामीहरूको संख्या बढ्नुपर्नेमा उल्टै घटेर ५ सय ३३ जना मात्रै पुगेका छन्। त्यस्तै औषधालयबाट उपलब्ध गराउने विशेष सेवाहरूमा पनि बिरामीहरूको संख्या न्यून हुँदै गएको देखिएको छ।

औषधालयले उपलब्ध गराएको तथ्यांकअनुसार विसं २०७३/०७४ मा चार हजार १०९ र विसं. २०७४/०७५ मा २ हजार ७३ बिरामीहरू उपचारका लागि आएका छन्।