काठमाडौं, (नेस)। कलंकीस्थित नारायणी गेस्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका विवेक सोनाम सुनारलाई गेस्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ खड्का गाउँ बस्ने विनय वाइबा लामा, काठमाडौं सानोभ¥याङ बस्ने सविन अर्याल र नैकाप बस्ने निशान धमला रहेका छन्।
उक्त गेस्ट हाउसमा पाँच जना बसिरहेको अवस्थामा सोमबार राति खाना पुर्याउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरूले विवेकलाई सोही रुमबाट तल फालेर तत्काल फरार भएका थिए।
घाइते विवेकलाई तत्काल उपचारको लागि शहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्रान्डी अस्पताल लगिएको छ।
घटना पश्चात फरार व्यक्तिलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेलापारी फरारमध्ये ३ जनालाई पक्राउ गरेको हो।











प्रतिक्रिया