हावाहुरी प्रभावितले पाए घर, प्रतिघर निर्माणका लागि ४ लाख ८४ हजार


वीरगञ्ज । बारा र पर्साका ८ सय ६९ हावाहुरीका कारण प्रभावित परिवारले घर पाएका छन् । नेपाली सेनाले बनाइदिएको घर उनीहरुलाई बुधबार हस्तान्तरण गरिएको हो ।

वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे । त्यसपछि पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना घर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाका अनुसार ०७५ चैत १७ गते आएको हावाहुरीबाट प्रभावितहरू नयाँ घरमा बस्न थालिसकेका छन् ।

सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखेको थियो । तर अविरल वर्षा, निर्माण सामग्रीको अभाव र विवादित घरहरुका कारण काम केही ढिला भएको बताएको छ ।

नेपाल सरकारले नेपाली सेनालाई पुनर्निर्माणको जिम्मा दिएपछि नेपाली सेनाले पर्सा र बारामा १२ वटा क्लस्टर बनाएर काम सुरु गरेको थियो । जग खन्ने, छानोसम्म ब्लक लगाएर झ्याल ढोका हाल्ने, ट्रस जडान गरेर छानो हाल्ने र घरको फिनिसिङ गरेर घर निर्माण सम्पन्न गर्ने गरी चार चरणमा सेनाले काम गरेको थियो ।

प्रभावितका लागि २ वटा कोठा, एउटा शौचालय, सानो भान्साकोठा र बरण्डा भएको ३४८.६ वर्गफिटको आकर्षक घर निर्माण भएको छ । जग्गा नपुग हुनेलाई विभिन्न ५ डिजाइनका घर बनाइएको र जग्गा नभएकालाई स्थानीय सरकारसँग समन्वय गरेर घर निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

सुरुमा ५ सय घर पूर्ण क्षति भएको अनुमान गरी वर्षायाम अगावै निर्माण गरिदिने गरी नेपाली सेनालाई जिम्मा लगाए पनि पछि एक हजार ४५३ घर पूर्ण क्षति भएको विवरण आएको थियो । ०७६ साउन २६ गतेसम्म तीन चरणमा एक हजार ४५३ वटै घर निर्माण गर्ने योजनाअनुसार तयारी गरिएको थियो ।

०७५ चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट क्षति भएका घर पुनर्निर्माण गर्न सेनालाई जिम्मा दिएको थियो ।

दर्ता छुट भएका प्रभावितको निवेदन संकलन, स्थानीय जनप्रतिनिधि, क्लस्टर कमाण्डर र स्थानीय प्रहरी प्रमुखको टोलीले प्रमाणीकरण गर्दा २०२ जना वास्तविक पीडित छुटेका थिए ।
घर निर्माण गर्दा विनियोजित रकममा ५३.८३ प्रतिशत बचत भएको छ । विभिन्न जनहितको कार्यसमेत समावेश गरी सुरुमा विनियोजित रकमबाट आधा खर्चमा काम पूरा भएको सेनाले जनाएको छ ।

मन्त्रिपरिषद्ले एउटा घर निर्माण गर्न ५ लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसा छुट्याए पनि ४ लाख ८४ हजार ८८८ रुपैयाँ लागेको सेनाले बताएको छ ।