सेवाग्राहीसँग १ लाख घुस माग्दै गर्दा रङगे हात पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत पूर्वकर्मचारी हरिमोहन क्षेत्रीले सेवाग्राहीसँग रु एक लाख घुस मागेको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगले अनुसन्धानका लागि मागेका जग्गासम्बन्धी कागजात नपठाइ केही समयका लागि रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । आयोगको हेटौँडाबाट गएको टोलीले क्षेत्रीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी क्षेत्रीको थप अनुसन्धान भइरहेको छ ।