संविधान दिवस भव्यरूपमा मनाइने


न्युज अफ नेपाल, हेटौंडा । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रम गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल समारोह समिति गठन गरिएको हो ।

दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सामाजिक विकास मन्त्री युवराज दुलालको संयोजनमा रचनात्मक क्रियाकलाप व्यवस्थापन समिति, प्रदेशका मुख्य न्यायाधीवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति, जिल्ला समन्वय समिति संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनीतिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको छ ।

दिवसमा सरसफाइ, परिसम्वाद, खेलकुद कार्यक्रम, दीपावली, बढाइँ, धार्मिकस्थलमा दीपावली, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान, मकवानपुरगढीमा नेपालको झण्डोत्तोलन तथा मुख्य दिन वृहत् कार्यक्रम गरिने भएको छ ।

बैठकमा मुख्यमन्त्री पौडेलले संविधान दिवस कर्मकाण्डी नभएर प्रभावकारी बनाइने बताउनुभयो । मुख्यमन्त्री पौडेलले जिम्मेवारी बाँडफाँटअनुसार काम सम्पन्न गर्न निर्देशन दिनुभयो । ‘संविधान दिवस इतिहास हो, यसलाई झल्काउने गरी मनाइनेछ,’ उहाँको भनाइ थियो । दिवस भव्यतासाथ मनाउन सम्पूर्णलाई उहाँको आग्रह छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेल, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेश प्रमुख सचेतक रामेश्वर फँुयाल, मुख्य न्यायाधीवक्ता थपलिया, सुरक्षा निकाय प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख खुलाललगायतको सहभागिता थियो ।