न्युज अफ नेपाल काठमाडौं ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । दर्शनार्थीको दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।
रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा लर्को छ ।
तीजमा पशुपति दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटाइएको छ ।
शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मीसहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ ।
सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक आज दिनभर बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ ।
तस्वीरः अनील आङदम्बे, काठमाडौं ।












प्रतिक्रिया